नेपालमा स्वयंमसेवा गर्दै चिनियाँ

0
Shares

शिक्षा समन्वय तथा मानव स्रोत विकास केन्द्रका प्रमुख नन्दलाल पौडेलले दुई हजार चिनियाँ स्वयम्सेवकले नेपालमा काम गरिरहेको बताउनुभएको छ । उहाँले सो कुरा मंगलबार सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजुमा चिनियाँ विद्यार्थीको स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउनुभएको हो ।

८० प्रतिशत निजी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने तथ्य उजागर गर्दै उहाँले नेपाल–चीनबीच सदियौंदेखि चलिआएको रीतिरिवाज तथा संस्कृतिलाई अझ प्रगाढ रुपमा विस्तार गर्न अङ्ग्रेजी भाषाले सहयोग पुर्याउने बताउनुभयो । अरनिको तथा भृकुटीले नेपाललाई चिनाएको उपमा दिँदै अबको पुस्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझ फराकिलो पार्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थ वनस्थलीका प्रिन्सिपल रुपक राजवंशीले छिन्ताओ मिडियम स्कुलका विद्यार्थी तथा शिक्षकलाई स्वागत गर्नुभएको थियो । उहाँले यस्ता भ्रमणले सद्भाव तथा सवृद्धि छाउने विश्वास व्यक्त गर्नुभयो । साथै चिनियाँ सहयोगका लागि शुभेच्छा पनि प्रकट गर्नुभयो ।

सो कार्यक्रममा चिनियाँ टोलीका शिक्षिका सिना नाले चीनका विभिन्न विद्यालयको बारेमा वर्णन गर्दै शिक्षण सिकाइ प्रक्रियाका बारेमा बताउनुभएको थियो । सहभागी चिनियाँ विद्यार्थीले नेपालको शिक्षा प्रणाली, सूचना प्रविधि तथा लागूऔषधलगायत विविध विषयमा जिज्ञासा राखेका थिए । चिनियाँ विद्यार्थीको जिज्ञासा डा. सर्वोत्तम श्रेष्ठ तथा रुपक राजवंशीले दिनुभएको थियो ।

नेपालको पाठ्यपुस्तकमा धर्मसम्बन्धी के व्यवस्था छ भनी सोधिएको प्रश्नमा शिक्षा समन्वय प्रमुख पौडेलले नेपाल हिन्दु राष्ट्र तथा धर्मनिरपेक्ष राष्ट्र भएको बताउनुभएको थियो । साथै नेपालमा विभिन्न धर्मसम्बन्धी पाठ्यपुस्तकमा नै समावेश गरेर अध्ययन गराइएको उहाँको भनाइ थियो ।

उहाँले १ सय २५ जातजातिको १ सय २३ वटा भाषा बोलिने भएकाले धर्म संस्कृति रीतिरिवाज सबै विषयमा पढाइ हुने बताउनुभयो । सो चिनियाँ टोली नौदिने भ्रमण सकी स्वदेश फर्कने कार्यक्रम छ ।