अभिभावक खोज्दै सडक किनारका रुख


 

ईश्वरराज ढकाल
काठमाडौं । राजधानीमा रोपिएको रुखको कसले संरक्षण गर्ने ? महानगरपालिकाले कि सरकारले ?

देशको राजधानी काठमाडौंकोको सडक किनारामा रोपिएका विरुवाको संरक्षण गर्ने जिम्मा सरकारको हो । तर राजधानीलाई हरियाली बनाउने जिम्मा लिएको महानगरपालिकाले सबै विरुवा संरक्षण गर्ने जनाएको छ ।

सरकारको स्वामित्वमा रहेको वन कार्यालयले राजधानीको विभिन्न सडक छेउमा वृक्षरोपण गरेको थियो । चक्रपथमा रोपिएका विरुवाको संरक्षण वन विभागले गर्ने भएतापनि त्यसको रेखदेखको जिम्मा स्थानीय निकायको हुने प्रावधान छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जुन निकायले जस्तोसुकै भनाई अघि सारेपछि संघीय राजधानीको सडक छेउको विरुवा संरक्षण गर्ने काम कामपाकै भएको बताउनुहुन्छ । वन कार्यालयसंँग पानीको ट्याङ्कर र जेट मेशिन छैन, कसरी बोट बिरुवा संरक्षण गर्छन्, उहाँको प्रश्न छ ।

मेयर शाक्यले कामपा र अन्य सरोकारवाला निकायको सहयोगमा विरुवा संरक्षण गर्ने योजना रहेको बताउनुभयो । भन्नुभयो–सरकारले राजधानीमा रोपेको बिरुवा मर्न दिदैनौं, यसलाई जसरी भएपनि संरक्षण गरी देशको संघीय राजधानीलाई हरित राजधानीको रुपमा बिकास गर्नेछौ ।

सरकारले हरेक वर्ष असार १४ गतेलाई वृक्षरोपण दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुरुप पहिलो वर्ष देशैभर वृक्षरोपण सम्पन्न भैसकेका छन् । कामपाले असार महिनाभित्र राजधानीको विभिन्न स्थानमा वृक्षरोपण गर्ने जनाएको छ ।

सरकारले राजधानीको सडक किनारा र विभिन्न सरकारी निकाय परिसरमा हजारौ विरुवा रोपे पनि त्यसलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा खासै योजना तय गरेको छैन । यसअघि विश्व वातावरण दिवसको अवसरमा राजधानीका अधिकांश सडक किनारामा वृक्षरोपण गरिने प्रचलन थियो ।

यसअघि सयौं विरुवा रोपिएका होलान्, तीमध्ये अधिकांश मरिसकेका छन् ।
कामपाका मेयर शाक्यले सरकारले महत्वाकांक्षी अभियान शुरु गरेको कारण राजधानीको कुनैपनि विरुवा मर्न नदिने दाबी गर्नुभयो । भन्नुभयो–जसरी भएपछि ती विरुवाको हामी संरक्षण गर्नेछौं ।

कामपा वातावरण व्यवस्थापन प्रमुख हरिकुमार श्रेष्ठले राजधानीमा रोपिएका विरुवाको कामपाले संरक्षण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–हामी नै मलजल गर्नेछांै, ट्री गार्डले सबै विरुवा संरक्षण गर्नेछौ । उहाँले विभिन्न संघ संस्थाले जिम्मा लिएको विरुवा उनीहरुलेनै संरक्षण गर्ने दाबी गर्दै, बाँकी रहेका स्थानमा कामपाले संरक्षण गर्ने बताउनुभयो ।

यो वर्ष कामपाले वडा नम्बर १५ र १६ मा करिब ४ सयको हाराहारीमा फलफूलको विरुवा रोपण गरिने भएको छ । पाँच वर्षभित्र करिब ५ करोड विरुवा रोपण गर्नेगरी सरकारले अघि सारेको महत्वाकांक्षी योजना सफल बनाउन कामपाले संघीय राजधानीमा विरुवा संरक्षण गर्ने भएको छ ।