संसदीय दलको बैठकः नेतृत्वसँग खनिए नेकपाका सांसद


गंगा बराल, काठमाडौं । संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् ।

नेकपाका सांसद झपटबहादुर रावलले सबैजसो सांसदले आफूलाई लागेका कुरा खुलेर राखेको बताउनुभयो । ‘लुकाउने छिपाउने कुरा आएन, जे छ त्यो सत्य हो भनियो, नेता केन्द्रित नीति र व्यवहार देखिएकोमा विरोध भयो’, रावलले भन्नुभयो– ‘यस्ता छलफल पहिले नै किन भएनन् भनेर प्रश्न गरें, पार्टीलाई सही ढंगले लानलाई नै सुझाव आएको छ, नेतृत्वले सुन्नुपर्छ ।’

रावलले सरकारले जनताका पक्षमा काम नगरेको, पार्टी एकता टुंगिन नसकेको, नेताहरुले तल्लो तहसम्म अधिकार बाँडफाँड नगरेको, बजेट व्यावहारिक र जनमुखी नभएकोलगायतका विषयमा सबैजसो सांसदले धारणा राखेको बताउनुभयो ।

रावलले सत्तारुढ दलका सांसदले नै बजेटपुस्तिका फिर्ता गर्ने र बजेटसम्बन्धी छलफलमा रोस्ट्रममा गएर मौनधारण गर्ने अवस्था नआओस् भनेर सरकारलाई सचेत गराउनुभयो । रावलले गत वर्ष आफ्नो क्षेत्रमा मन्त्रालयले बजेट नपारेको भन्दै बजेटपुस्तिका फिर्ता गर्नुभएको थियो । उहाँले यसपालि पनि बजेटले क्षेत्रलाई नछोएको भन्दै रोस्ट्रममा गएर मौनधारण गर्नुभएको थियो ।

सांसद भीमबहादुर रावलले सरकारका विषयमा कडा प्रतिक्रिया दिनुभएको थियो । उहाँले सरकार राष्ट्रियताको मुद्धामा कमजोर भएको, गुटगत आधारमा वजेट बिनियोजन गरिएको, सरकारले दिएका आश्वासन जनतामा पूरा गर्न नसकेकोलगायतका विषय उठाउनुभएको थियो । पछिल्लो समयमा भीम रावल सरकारको विपक्षमा खरो रुपले बोल्दै आउनुभएको छ ।

सांसद खेमप्रसाद लोहनीले जनताको भावनाअनुसार सरकारले काम गर्न नसकेको गुनासो सशक्त रुपमा उठेको बताउनुभयो । ‘धेरै विषय उठाइए, जसको कार्यान्वयन गरे सरकार र पार्टी दुवैलाई नै फाइदा हुन्छ’, लोहनीले भन्नुभयो– ‘खासै नयाँ कुरा त आएन तर आफ्नो धारणा प्रष्ट रुपमा राख्ने काम भयो, केही कमीकमजोरी भए सच्याउनुपर्ने सुझाव आएको छ, पार्टीले राम्रा कुरालाई सुन्नुपर्छ ।’ उहाँले संविधान कार्यान्वयन गर्न र पार्टी समायोजनको विषय पनि तत्कालै टुंग्याउन नेतृत्वलाई दबाब परेको बताउनुभयो ।

यसअघिका दलका बैठकमा अध्यक्षद्वयले मात्र बोल्ने र बैठक सकिने इतिहास रहेको थियो, सोमबार पनि यस्तै होला भन्ने सांसदको कल्पना थियो तर बोल्न पाएपछि सांसदहरु पनि खुसी भएका छन् । बोल्नका लागि नाम टिपाएका २१ जना बाँकी नै छन् ।

बैठकमा अध्यक्षद्वयसहित २९ जनाले बोलेका थिए । पार्टीका कुनै पनि कमिटीको बैठक नबस्दा पार्टी पदाधिकारी, स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र अन्य नेताहरु कहाँ बोल्ने भन्ने अन्योलमा पर्दै आएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्र पार्टीको सबै निर्णय गरेको र पार्टी पंक्तिलाई बेवास्ता गरेको आरोप लाग्दै आएको छ ।

झण्डै ४ घण्टा चलेको बैठकमा खगराज अधिकारी, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, विमला विक, निरुदेवी पाल, रामकुमारी झाँकी, पार्वत गुरुङ, पदम गिरी, मोहन बानियाँ, मेटमणि चौधरी, तिलबहादुर महत, लालबहादुर थापा, अञ्जना विशंखेलगायतले धारणा राख्नुभएको थियो । अर्को बैठक आगामी शनिबार बस्नेछ । यस प्रकारका बैठक बारम्बार बसेर पार्टी र दलभित्र प्रशस्त छलफल गर्नुपर्ने सांसदहरुको माग छ ।

नाम लेखाएर पनि बोल्न नपाउनुभएकी सांसद शान्तिमाया पाख्रिनले अहिले सरकार र पार्टी गम्भीर मोडमा भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा पनि जनताले पत्याउने गरीको पार्टी बनाउनु आवश्यकता रहेको बताउनुभयो ।

सांसदहरुले विधेयक ल्याउँदा सरोकारवालासँग छलफल गरिनुपर्नेमा जोड दिए । त्यतिमात्र होइन संसदीय दलभित्रै विधेयक निर्माणका लागि बेग्लै समिति बनाएर जानुपर्ने पनि सुझाव दिए । विधेयक फिर्ता लिँदा सरकार संकटमा परेको भन्दै यस्तो अवस्था आउन नदिनसमेत सरकारलाई सचेत गराए । सांसदहरुको प्रश्नको अध्यक्षद्वयले जवाफ दिए पनि चित्त नबुझेको सांसदको गुनासो छ ।

दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारको काम कारबाही राम्रो भए पनि कतिपय विधेयकहरु विवादमा तानिएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई पार्टीका सांसदहरुले ध्यानाकर्षण गराएको स्वीकार्नुभयो । बैठकमा सांसदहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालमाथि पार्टी एकताको काम छिटो टुंगो लगाएर सरकारको काम कारवाहीलाई अझै सहज बनाउन पनि दबाब दिए । केहीले भने सरकारको काम सन्तोषजनक रहे पनि त्यसलाई सिंगो पार्टी पंक्तिमा सञ्चार गराउन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि जनाएका थिए ।

बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले असारभित्र पार्टी एकताको बाँकी काम पूरा गर्ने र सरकारको कामकारबाहीलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले पार्टीलाई अझै सशक्त बनाएर लैजाने दृढता पनि सांसदहरु समक्ष व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले बैठकमा पार्टीमा विभाजन आउँछ कि भन्ने आशंका नगर्न पनि आफ्ना सांसदहरुलाई आग्रह गर्नुभएको थियो । बैठक अन्तरक्रियात्मक भएको र त्यसभित्र पार्टी र सरकार दुवैको बारेमा सांसदहरुले नेतृत्वसँग प्रश्न उठाएको सांसद देबेन्द्र पौडेलको भनाइ थियो ।