चिया आन्दोलनले उग्ररुप लिँदै, कारखाना खोलेको १२ घण्टा नबित्दै सडकमा पोखियो हरियोपत्ती


गणेश घिमिरे, इलाम ।
पूर्वी इलामको सूर्योदय नगरपालिकामा चिया आन्दोलनले उग्ररुप लिँदै गएको छ । कहिले उद्योगीले कारखाना बन्द गरेर आन्दोलन गर्छन त कहिले किसानहरुले सडकमा हरियो पत्ति फालेर आन्दोलन गर्छन । बिहीबारदेखि उद्योगीले कारखाना बन्द गरेर आन्दोलन गरेपश्चात शनिबार सूर्योदय नगरपालिका, उद्योगी, किसान बसेर बार्ता गरे । वार्ताले सहमतिको बाटो देखाएपछि आइतबार अर्थात असार १५ गतेबाट कारखाना खोले । उद्योगीहरुको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनले एशोसिएसनमा आबद्ध ५२ वटा उद्योग एकैचोटि बन्द गरेका थिए ।

तर कारखाना खोलेको बाह«घण्टा पनि नबित्दै किसानहरु आन्दोलनमा उत्रिए । आइतबार साँझ किसानले नगरपालिका र नगरपालिकाको केन्द्र फिक्कल बजारको बीच सडकमै चिया पोखेर आन्दोलनमा उत्रिए । उद्योगीले सूर्योदय नगरपालिकाले तोकेको मूल्य दिन नसक्ने भन्दै आन्दोलन गरेर कारखाना बन्द गर्दा आइतबार साँझबाट किसानले भने कारखानाले किसानको हरियो पत्ति खरीदै नगरेको भनेर आन्दोलनमा उत्रिए । उद्योगले चियाको गुणस्तर नपुगेको भन्दै चिया नलिएपछि किसानहरु आन्दोलित बनेका हुन् । यसअघि किसान र उद्योगीले सहमतीमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मुल्य निर्धारण सम्वन्धी कार्यबिधि २०७५ लागु गरेर हरियोपत्तीको न्यूनतम मुल्य प्रतिकेजि ४० रुपैया कायम गरेको थियो ।

तर उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको हरियो पत्तिमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै कारखाना बन्द गराएका थिए । कारखाना बन्दपछि नगरपालिकासंग भएको वार्तामा गुणस्तरका आधारमा मात्र नगरले तोकेको मुल्यमा चिया खरीद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दिर्घकालीन चियाको समस्या समाधान गर्ने सहमती भएको थियो । तर उदोगले चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानले आन्दोलन थालेका हुन ।

आन्दोलनका क्रममा सोमबार किसानहरुले सूर्योदय नगरपालिका दिनभर घेराउ गरे । नगरपालिकाले तोकेको गुणस्तरलाई ध्यानमा राखेपनि सवै पत्ती एउटै स्तरको नहुने स्थानीय चिया किसान लेखनाथ भट्टराईले बताउनुभयो । उत्पादित पत्ती अनुसार मुल्य निर्धारण किसानको माग छ । नगरपालिकाको पहलमा शनिबार भएको छलफलमा वास्तबिक किसानलाई नै नसेमेटी नक्कली किसान राखेर वार्ता गर्दै उनीहरुको स्वार्थ अनुसार सहमति गरेको किसानको आरोप छ । उद्योगीले भने नगरसंगको सहमति भन्दा गुणस्तरहिन हरियोपत्ती आएपछि फिर्ता गरेको बताएको छ । दुई पात एक सुईरो भएको मुना चिया लिने सहमती भएपनि उक्त चिया नआएपछि फिर्ता गरेको उद्योगीहरुको भनाइ छ ।

चिया उद्योगीले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्ने गरिको चिया उत्पादन र बिक्री वितरण गर्न जस्तो पायो त्यस्तै चिया खरिद गर्न नसक्ने जनाएको छ । किसानहरुको चिया र मेहनतमा खान पल्किएका दलालका कारण समस्या आएको किसानहरु बताउँछन् । सूर्योदय नगरपालिकाकी उपमेयर दुर्गादेवी भट्टराईले चिया क्षेत्रका समस्या समाधानमा नगरपालिका लागि परेको बताउनुभयो ।