‘तोलाङ्गे’ लगातार ठगीमा, जग्गा र छोरा दुबै नक्कली

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।  पिच सडक विक्री गरी पक्राउ परेका लोकेन्द्र तोलाङ्गेले अन्य स्थानमा पनि नक्कली जग्गा देखाउँदै ठगेको उजुरी परेको छ । पक्राउ परेका तोलाङ्गेलाई जिल्ला अदालत काभ्रेले २२ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिईसकेको छ ।

‘राम्रो स्थानमा अर्कैको जग्गा देखेर भिर पाखाको लालपुर्जामा भएको जमिन विक्री गर्दाे रहेछ’–ठगिएका भक्तपुरका प्रवीण बाटीले भन्नु भयो । तोलाङ्गेसँग गरिएका हरेक कारोवारमा नक्कली जग्गा देखाउँदै कारोवार भएको छ । कात्तिकेदउराली वडा नम्वर ७ घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १० बस्ने रणबहादुर सार्कीले भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नम्वर २ घर भएका प्रवीण बाटी र सोहि ठेगानाका लक्ष्मीप्रसाद प्रजापतिलाई २४ लाख रुपैयामा ५ रोेपनी २ आना जग्गा विक्री गरे ।

त्यसको सुत्रधार धुलिखेल नगरपालिका ४ बखुण्डोल घर भएका ३२ बर्षिय लोकेन्द्र तोलाङ्गे हुन् । उनै तोलाङ्गेले बाटी र प्रजापतिलाई धुलिखेलको पिच सडक विक्री गरेका थिए भने पाँचखाल नगरपालिका १० बालुवाको ५ रोपनी जमिन अन्यत्र देखाउँदै भिर पाखो विक्री गरेका छन् ।

तोलाङ्गेले रणबहादुरलाई नक्कली जग्गा देखाउन लगाएका थिए । ‘२४ लाख रुपैयामा विक्री भएको जमिनको मैले १० लाख रुपैया भन्दा प्राप्त गरेको छैन’–रणबहादुरको भनाई उदृत गर्दै स्थानीय शिव न्यौपानेले भन्नु भयो–‘बाँकी १४ लाख रुपैया रणबहादुरलाई थाहा नहुँदा नहुँदै पुनः ३६ लाख रुपैया बुझिलिएको तमसुखमा सहि गरेर ६० हजार रुपैया ब्याज तिरेका रहेछन् ।’ रणबहादुर र जग्गाको मध्यस्थकार्त भई तोलाङ्गले काम गरेका थिए ।

विपी राजमार्ग नजिकैको सुगम समथर जग्गा देखाएर २०७५ साउन २८ गते मालपोत रसिद नम्वर ४९० राजीनामा लिखतबाट बालुवा देवभूमी वडा नम्वर ८ को कित्ता नम्वर १५३७ नम्वरको ५–२–०–० जग्गा रणबहादुर सार्कीबाट पास गरेर लिएका थिए । जग्गा खरिद गर्ने बाटी र प्रजापतिले २०७६ साल जेष्ठ १८ गते विक्रीका लागि साँध सिमाना नापजाँच गर्न जग्गामा पुग्दा रणबहादुरले देखाएको र विक्री भएको जग्गा फरक भएको थाहा पाएका थिए । रणबहादुरले देखाएको जग्गा स्थानीय नारायणप्रसाद सापकोटाको हो । उहाँको समथर जग्गा देखाएर तोलाङ्गेले छोरा समेत नक्कली रााखी सहि छाप गरेर जग्गा पास गरिदिएका थिए । उनको छोरा विरबहादुर भन्ने मालपोत कार्यालयमा साक्षी राखिएको छ ।

उक्त जग्गाबाट पनि ठगिएको थाहा पाएपछि बाटी र प्रजापतिले जिल्ला प्रशासन कार्यालय काभ्रेमा असार १० गते जीउधनको रक्षा गर्न निवेदन दर्ता गराएका छन् । तोलाङ्गे मार्फत खरिद गरेको अर्काे जग्गा पनि नक्कली भएको आशंका बाटी र प्रजापतिले गरेका छन् । ‘हामी बुझ्दै छौं, अर्काे स्थानमा भएको जग्गा समेत नक्कली भएको शंका छ’–बाटीले भन्नु भयो । साविक श्रीखडण्डुर ७ मा रहेको ७ रोपनी ५ आना जग्गा उनै तोलाङ्गे मार्फत खरिद गरिएको थियो । ब्याज पाउने लोभमा खरिद गरिएको जग्गा पनि नक्कली भएको बाटीले बताए । जग्गा नै पास गरेर लिएका बाटी समुहले ४० लाख रुपैया दिएर जग्गा लिएका थिए । उत्त जग्गामा पनि आफूहरुलाई तोलाङ्गले ठगिएको उनले बताए ।

को हुन् बाटी र प्रजापति ?

भक्तपुरमा सामान्य ब्यवसाय गर्ने प्रवीण बाटी र लक्ष्मीप्रसाद प्रजापतिको सहकारी पनि छ । सहकारीबाट कम ब्याजमा ऋण लिएर २४ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने उक्त समुहले जग्गा पास गरेर लिने गरेको छ ।

ऋण लगानी गर्ने, जग्गा पास गर्ने अनि ऋण फिर्ता गरे जग्गा फिर्ता गर्ने नत्र जग्गा अन्य ब्यक्तिलाई विक्री गर्ने क्रममा भक्तपुरको सल्लाघारीमा बद्रि परियारसँग भेट भयो । बद्रि परियार र लोकेन्द्र पहिला देखिकै चिनजानका साथी रहेछन् । उनिहरुको संगत बद्रिसँग भन्दा धेरै तोलाङ्गेसँग हुन थाल्यो । केहि काममा तोलाङ्गे र उनिहरु मिलेर जग्गामा लगानी गरे फाईदा पनि लिए । बाटीको समुहसँग पैसा छ भन्ने थाहा पाएपछि तोलाङ्गेले नक्कली काम गर्न थाले ।

रणबहादुरलाई पनि उनले त्यहि गरे । उनको मुल्य जति हो त्यति तिरे तर जग्गा र छोरा नक्कली देखाउन लगाए । बाँकी पैसा आफै खाए । आफैले पैसा दिएर ब्याज पनि तिर्न लगाए । पछि २४ लाखको जग्गा खरिद गरेकोमा ३६ लाखको कागज समेत बनाए । बाटीहरुको समुहले रणबहादुरका नाममा रहेको थप ३ कित्ता जग्गा सम्पर्क रोक्का लागि मालपोत कार्यालयमा पत्र पठाएका छन् । रणबहादुरले उक्त कुराको सूचना पाए लगत्तै रोक्का गर्नु केहि दिन अघि राम्रो कित्ताका जग्गाहरु विक्री गरिसकेका छन् । तोलाङ्गेले गरेको एक पछी अर्काे ठगीले चोक्टा खान जाँदा झोलमा डुबेको उखान बाटी समुहलाई मिल्न गएको छ ।