चामल अपुग हुने देशमा राजनितिकर्मीको असारे नाटक !

0
Shares

मनोज रेग्मी, काठमाडौं ।
असार १५ अर्थात धान दिवस । यसको कृषिसँग जोडिएको पवित्र सांस्कृतिक साइनो छ। तर, यसलाई हल्का मनोरञ्जनका रूपमा लिने क्रम बढ्दो छ। तीन सय ६४ दिन किसानलाई वास्ता नगर्ने नेता र अन्य उपल्ला वर्ग एक दिन बडो किसानैजस्ता बनेर हिलोमा रम्ने गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले धान दिवसका अवसरमा आफ्ना दलका कार्यकर्ताहरूसँग खेतमा यसै गरी नाटक गरेका छन् । अहिले सांसद नवराज सिलवालले धान दिवसका अवसरमा आफ्ना दलका कार्यकर्ताहरूसँग खेतमा खिचाएको तस्वीर भाइरल बनेको छ । तस्वीर देखिएका सिलवालको सबैले आलोचना गरेका छन् ।

ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेबाट विजयी भएका सिलवालले असार १५ गते धान दिवसका दिन खेतमा हातमा सेतो पञ्जा लगाएर बडो नाटकीय पाराले समाजिक सञ्जालमा तस्विरहरु राखेका छन्। रोपइ गरे जस्तो गरी तस्वीर खिचाएकोमा उनी अहिले आलोचित बनेका छन् ।

उनकै पार्टीका शीर्ष नेताहरू परम्परागत रुपमा खेतमा प्रवेश गरेर रोपाइ गरेर धान दिवस मनाएका छन् । आफ्नै पार्टीका कार्यकर्ता र नेताहरूसँग घुलमिल गर्न धेरै रुचि नराखेको भनेर आलोचना खेप्दै आएका सिलवालको आइतबार धान दिवसका अवसरमा सार्वजनिक भएको तस्वीरले अझ आलोचित बनाएको हो ।

नेकपाका सांसद सिलवाल हातमा सेतो पञ्जासहित खेतको आलीमा बसेर रोपिएको धानको दुई सरो बेर्नालाई छोएर तस्वीर खिचाएका छन् ।

उता, सिलवालसँग पराजित भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा भने आफ्नो दलका कार्यकर्ताहरूसँग खेतभित्र प्रवेश गरेर धान दिवस मनाएका छन् । बाजागाजासाथ आयोजना हुने यस्ता नाटकमा राजनीतिकर्मी मात्रै होइन, मन्त्री, सेलिब्रेटी, कर्मचारी र स्थानीय जनप्रतिनिधि पनि सहभागी हुन्छन्।

यो वर्ष पनि यस्तो नाटक विभिन्न स्थानमा मञ्चन भए। नेपाली प्रहरीको आईजीपी बढुवा काण्डमा कीर्ते गरेको अभियोग लागेका सिलवालले जागिर छाडेर तत्कालीन एमालेमा प्रवेश गरेका थिए । कीर्ते काण्डमा सिलावललाई पक्राउ गर्न पुर्जी जारी भएका बेला उनी भूमिगत समेत भएका थिए ।

पोखरा महानगर प्रमुख मानबहादुर जीसी पोखरामा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखामा, राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ र संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बर्दियाको राजापुर, राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसी, नेपाल कृषि श्रमिक संघको आयोजनामा चन्द्रागिरिमा, कांग्रेस नेता उदयशमशेर राणा भरतपुरमा, पुष्पकमल दाहालपुत्री रेणु दाहाललगायत तिलोत्तमा, देवदह नगरपालिकासहित दर्जनौं स्थानमा धान रोपाइँको नाटक गर्न पुगे।

अहिले नेपालको कुल खेतीयोग्य जमिनमध्ये ४८.३ प्रतिशत क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। वार्षिक ६९ लाख टन धानको माग छ। यस्तै, ४६ लाख ९२ हजार टन चामल आवश्यक छ। उत्पादनले नधान्दा बर्सेनि ५ देखि ६ लाख टन चामल अपुग छ।