ध्रुव थापा
अध्यक्ष, सिमेन्ट उत्पादक संघ नेपाल
पछिल्लो समयमा नेपाली बजारमा सिमेन्ट उद्योग दिन प्रतिदिन बढिरहेको छ। सिमेन्ट उद्योगको संख्या जुन गतिमा बढ्दै गएको छ त्यसअनुसार माग बढ्न सकेको स्थिति छैन।
आपूर्ति क्षमताअनुसार बजारमा माग बढ्न नसक्दा अहिले नेपालमा सिमेन्ट उद्योग फस्टाउन सकेको स्थिति छैन। माग वृद्धि हुन सक्नुमा सरकारी विकास खर्च वृद्धि हुन सक्नु पनि प्रमुख कारण हो। एकातिर बजेट समयमा खर्च नहुने अवस्था छ भने अर्काेतिर ठूला पूर्वाधार निर्माणका आयोजनाले तीव्रता पाउन नसक्दा पनि सिमेन्टको माग जुन तहमा हुनुपर्ने हो त्यो हुन सकेको छैन।
सरकारले केही समयअघि दुईपटक संशोधन गरिसकेको सार्वजनिक खरिद ऐनको विपक्षमा निर्माण व्यवसायी, परार्शदाता एवं आपूर्तिकर्ताहरू देखिएका छन्।
पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक १५ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन भइरहेको छ। तर १० मिलियन मेट्रिक टनभन्दा कम सिमेन्ट नेपाली बजारमा खपत हुने स्थिति छ। माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा बजारमा सिमेन्ट उद्योगहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ।
अहिले विभिन्न तहका सरकार छन्। सरकारका निकायहरू बढेर गएसँगै सिमेन्ट उद्योगलाई नाफामुलक उद्योग हो भन्दै सबै क्षेत्रबाट कर थोपर्ने होडबाजी जस्तै चलेको छ। विभिन्न तहमा लगाइने कर, चन्दाजस्ता गतिविधिले गर्दा यतिखेर सिमेन्ट उद्योगहरू निरुत्साहित भएका छन्।
जसरी अहिलेको परिस्थिति विकास भइरहेको छ। अब त्यसलाई रोक्नका निम्ति सरकारले लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने देखिन्छ। सरकारले करको दायरामा वृद्धि गर्दा आम उपभोक्ता र देशलाई नै घाटा पर्ने देखिन्छ। सरकारले माग र उत्पादनको सन्तुलन कायम गर्न निर्यातका लागि सहुलियत दिएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउने वातावरण विकास गर्न जरुरी छ।
सिमेन्ट उद्योगहरूले निर्यातको वातावरण बनाउन सरकारसँग माग गरिरहेका छौं। सिमेन्ट उत्पादनमा सरकारले सबै कच्चा पदार्थ प्रविधि, ऊर्जालगायतमा सहुलियत प्रदान गर्नुपर्ने देखिन्छ जसले गर्दा उद्योगधन्दाको विकास भएर रोजगारी सिर्जना भई सरकारले लिएको आर्थिक विकासको लक्ष्यलाई सार्थक बनाउन ठूलो मद्दत पुग्ने हामीले विश्वास लिएका छौं।सरकारले वातावरण निर्माण गरेको खण्डमा नेपाली सिमेन्ट उद्योगहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन्।
पछिल्लो समयमा निर्माणमा निर्माणाधीन ठूला आयोजनामा पनि नेपाली सिमेन्टको माग हुन थालेको छ। यो खुसीको कुरा हो। यसलाई तीव्रताका साथ उपयोग गर्नु पर्यो।
नेपाली चुनढुंगाको गुणस्तर राम्रो छ, उत्पादन गर्ने मेसिन उच्च प्रविधिको छ, यसले गर्दा उच्च प्रविधिको सिमेन्ट उत्पादन भएको छ।
गुणस्तर विभागले पनि नेपाली सिमेन्टलाई नेपाल गुणस्तर चिह्न प्राप्त गरेका छन्। गुणस्तरको हिसाबमा नेपाली सिमेन्ट अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गर्ने सक्ने उच्च प्रविधिको रहेको छ। त्यसैले स्वदेशी उत्पादनबाट आत्मर्निभर हुँदै गएको स्थितिमा अन्तर्राष्ट्रिय बजार पनि खोज्नुपर्ने देखिएको छ।
(कुराकानीमा आधारित)











प्रतिक्रिया