‘विवाहको निम्तो आए जन्मदर्ता माग्छु’

0
Shares

हिक्मत नेपाली, दैलेख ।
दैलेखको गुराँस गाउँपालिकाले बाल विवाह न्यूनिकरणको लागि विशेष नीति बनाउने भएको छ । गाउँपालिकाले गाउँसभामा आगामी आर्थीक बर्ष २०७६÷०७७ का लागि पेश गरेको नीति तथा कार्यक्रममा दाइजो प्रथा निरुत्साहित गर्दै, बाल विवाह न्युनिकरण गर्न विशेष नीति बनाइने उल्लेख गरिएको छ ।

बाल विवाह न्यूनिकरणका लागि विशेष नीति बनाउने गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश भएका बेला गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले अब देखि गाउँघरमा हुने जो सुकैको विवाहको निम्तो आए जन्मदर्ता माग्ने बताएका छन् ।

जातीय, लैंगिक, साँस्कृतिक विभेद तथा बाल विवाह, छाउपडी प्रर्थालाई निराकरण गर्न किशोर किशोरीहरुलाई सक्षम गराउने उदेश्यले संचालनमा ल्याइएको ‘युवा कचहरी’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

गुराँस गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालनमा ल्याइएको युवा कचहरीमा बोल्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो ‘विवाहको निम्तो आए जन्मदर्ता वा अन्य प्रमाणपत्रहरु माग्छु, यदि केटा वा केटी दुबैको उमेर २० बर्ष पुगेको खण्डमात्र विवाहमा जान्छु ।’

गुराँस गाउँपालिका–८ धरमपोखरामा गठन भएको प्रगतीशिल युवा कचहरीले आयोजना गरेको बाल विवाह न्यूनिकरणका लागि सरोकारवालाहरुसँग कचहरी कार्यक्रममा अध्यक्ष ओलीले बाल विवाह न्यूनिकरणका लागि गाउँपालिकाका प्रत्येक टोल र बस्तीहरुमा कानुनमा उल्लेख भएका विषयहरुलाई छलफल र बहस गर्ने अभियान थालनी गर्ने बताउनुभयो । स्थानीय सरकारको अभियानमा गैरसरकारी संस्थाहरुको भूमिका महत्पूर्ण हुने उहाँको भनाई थियो ।

गुराँस गाउँपालिका–८ का वडाअध्यक्ष पूर्णबहादुर ओलीले गाउँघरमा हुने विवाहमा सरिक हुनुअघि केटा र केटीको उमेर सोध्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले आफु जुन ठाउँमा पुगेर कार्यक्रममा सहभागी भएपनि ‘विहेवारी: विस बर्ष पारी’ को विषय उठान गर्दै आएको बताउनुभयो । उहाँले बाल विवाह न्यूनिकरणका लागि आफुहरुले स्थानीय तहसँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागि शिक्षकहरुले हप्तामा एक दिन (दुई घण्टा) बाल विवाहको विषयमा विद्यालयमा छलफल गराउने पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । त्यस अघि कचहरीका किशोर किशोरीले जनप्रतिनीधि, प्रहरी, विद्यालय, संस्था, अभिभावकलाई पश्न गरेका थिए ।

प्रगतीशिल युवा कचहरी अध्यक्ष नरेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनीधि, संघसंस्था प्रमुख प्रतिनीधि, प्रहरी, अभिभावक, शिक्षकहरु सहभागी थिए ।