५० घरपरिवार खानेपानीको समस्यामा

0
Shares

विनोद सिंह विष्ट, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ८ मल्लादेहीका करीब ५० घरपरिवारले खानेपानीको समस्या झेलीरहेका छन् ।

मल्लादेहीमा खानेपानीको हाहाकार हुँदा खानेपानीको जोहो गर्न रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दाले बताएका छन् । गाउँमा रहेको एकमात्रै कुवामा पानी सुक्न थालेपछि खानेपानीको जोहो गर्न मुस्कील भएको पार्वती धामीले बताउनुभयो ।
खानेपानीको जोहो गर्नका लागि अनिदो बस्नुपरिरहेको स्थानीय रामबहादुर बोहराले बताउनुभयो । खानेपानीको जोहो गर्नका लागि राती उठेर कुवामा जानुपरीरहेको उहाँको भनाई छ ।

पछिल्लो समयमा सुख्खायाममा कुवाको पानी सुक्दै गएपछि खानेपानीको हाहाकार भएको हो । खानेपानीको व्यवस्थाका लागि स्थानीय सरकारले पनि पहल नगरेको मल्लादेहीबासीको गुनासो छ । गाउँमा भएको एक मात्र कुवामा पानी सुक्न थालेपछि खानेपानीकै कारण गाउँमा झगडा हुने गरेको छ ।

खानेपानीको जोहो गर्नै मुस्कील हुँदा वस्तुभाउलाई खुवाउन भने पानी नै नपाइने गरेको बताईएकोे छ । प्रत्येक बर्ष सुख्खायाममा पानीको अभाव झेल्नुपरीरहेको छ । खानेपानी नहुँदा विद्यार्थीहरुलाई समयमा विद्यालय पठाउन नसकिएको अभिभावकहरुले बताएका छन् । खानेपानीको अभावमा विद्यार्थीहरुले समेत कुवा कुर्नुपरीरहेको छ । गाउँमा स्थानीय सरकार आएपनि आफूहरुको खानेपानी समस्या समाधान नभएको स्थानीयबासीको गुनासो छ ।