समलिंगी बन्ने मन छ: सुरक्षा पन्त

0
Shares

पेसाले सुरक्षा पन्त सिभिल इन्जिनियर हुन्। तर, हिजोआज रजतपटमा छाइरहेकी छिन्। छोटो समयमै उनले आधा दर्जन फिल्ममा आफ्नो अभिनय कौशलता देखाइसकेकी छिन्।

थोरै फिल्मबाट नै आफ्नो फरक छवि बनाउन सफल सुरक्षाले स्व. आलोक नेम्वाङद्वारा निर्देशित फिल्म अझै पनि बाट नायिकाका रूपमा रजतपटमा डेब्यु गरिन्। त्यसपछि चंगा चेट, भैरे, रोमियो एन्ड मुना, सुस्केरा, धनपति, गोपी, घरलगायतका फिल्ममा अभिनय गरेकी उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन्। अभिनयबाहेक टेलिभिजन प्रस्तोता, स्केच कलाकार, कविलगायतको परिचय बनाएकी उनले हालै प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको निर्देशनको नाटक क्लेसाबाट रंगमञ्चमा पनि डेब्यु गरिन्। प्रस्तुत छ सुरक्षासँग गरिएको कुराकानी:
रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

अहिले आमा भन्ने फिल्मको सुटिङका लागि तयारी गर्दै छु र मास्टरको लास्ट सेमेस्टरको एक्जामको तयारीमा पनि व्यस्त छु।

फिल्मी करिअरको शुरुआत कसरी गर्नुभयो ?

इमेज भीजे हन्ट भन्ने कार्यक्रम सञ्चालन गर्दा निर्देशक आलोक नेम्वाङले फिल्मका लागि अफर गर्नुभयो। उहाँको फिल्म अझै पनि मा खेल्ने अवसर पाएँ। त्यो मेरो लागि नसोचेको र फरक कुरा थियो। अहिले फिल्ममै काम गरिरहेको छु।

फिल्ममा क्षेत्रमा नआएको भए के बन्नुहुन्थ्यो ?

मलाई भीजे बन्ने इन्ट्रेस्ट थियो। त्यस कारण इमेज भीजेमा भाग लिन गएको थिएँ। इन्जिनियरिङको विद्यार्थी भएका कारण इन्जिनियर मात्र बन्थें कि? तर, पछि म कलकारितामा आएँ, अहिले मेरो इन्ट्रेस्ट भनेको राम्रो कलाकार हुनु हो। नाम–दाम कमाउँछु भनेर आएको होइन। राम्रो काम गर्छु भनेर आएको हुनाले काममै फोकस भइरहेको छु। मैले अभिनयसम्बन्धी कुनै क्लास लिएको पनि थिइनँ। जति गरें, गरिरहेको छु, त्यो ममा जन्मजात आएको कला हो।

फेमिलीको रेस्पोन्स कस्तो छ ?

मेरो फ्यामिलीको कुनै पनि सदस्य यो फिल्डमा हुनुहुन्न। उहाँहरू राम्रो गरिरहेकी छौ, अझ राम्रो गर भन्नुहुन्छ। रेस्पोन्स राम्रो छ।

नेपाली फिल्म क्षेत्रमा अनप्रोफेसनल लाग्ने कुरा के हो ?

फिल्म क्षेत्रमा समयको ख्याल गरिँदैन। समयमा काम गरौं, सकाऔं भन्ने भावनाको कमी छ। त्यस्तै कथा लेखनमा सिरिस भएको पाइँदैन। कथा केका लागि लेखिँदै छ भन्ने कुरालाई नैै ख्याल गरिँदैन। कन्टेन्टलाई ध्यान दिनुभन्दा पनि कमर्सियल भ्यालुलाई मात्र ध्यान दिएर कथा लेखेको पाइन्छ। फिल्ममा कथा भनेको मुख्य कुरा हो। पैसा र पपुलारिटी भनेको सेकेन्डरी कुरा हुन्। तर, यहाँ कमर्सियल र पपुलारिटीलाई फस्ट प्रायोरिटीमा राखिन्छ। यस कारण सेटमा गएपछि स्क्रिप्ट नै चेन्ज पनि हुने गर्छ।

फिल्ममा मात्र काम गरेर जीवन धान्न सकिने अवस्था छ ?

पहिलेको तुलनामा अहिले धेरै राम्रो छ। सर्भाइब नै हुन नसक्ने भन्ने छैन। फिल्ममा लगानी धेरै भए पनि कलाकारको पारिश्रमिकचाहिँ निकै कम छ। त्यस्तै कलाकारबीच पनि समान पारिश्रमिक छैन। कलाकार भएपछि सर्भाइब मात्र भएर पनि पुग्दैन। कलाकारलाई मानिसको भीडभन्दा फरक रूपले हेरिन्छ। त्यसैले त्यहीअनुसार खानपान तथा लाइफ स्टाइललाई मेन्टेन गर्नुपर्ने हुन्छ। यी सबै कुराका लागि भने धौ–धौ नै छ।

तपाईंको प्रतिस्पर्धी नायिका को हो ?

म नायिका बन्छु भनेर यो क्षेत्रमा आएको थिइनँ। कलाकारितालाई जन्मजातै आएको गुण मान्छु। त्यस कारण कुनै पनि नायिकालाई प्रतिस्पर्धीका रूपमा लिइनँ। आफ्नो प्रतिस्पिर्धीका रूपमा आफैंलाई लिएको छु। अघिल्ला फिल्ममा आफूले गरेको अभिनय र अहिलेकोमा के सुधार भयो भनेर हेर्छु र अर्को फिल्ममा अझ निखार ल्याउने कोशिस गर्छु।

आफूभन्दा फरक लिंग तथा समुदायको व्यक्तिका रूपमा अभिनय गर्दा कस्तो अनुभव हँुदोरहेछ त भनेर हेर्न मन छ। हामीले अरूलाई देखेर महसुुस त गर्न सक्छौं। तर, महसुुस मात्र होइन, अरूको भोगाइ भोगेर उनीहरूलाई नजिकबाट चिन्ने र बुझ्ने रहर छ।

तपाईंलाई मन पर्ने नायक–नायिका को हुनुहुन्छ ?

दयाहाङ राईको काम गर्ने तरिका भिन्न लाग्छ। उहाँको अभिनयदेखि प्रभावित छु। त्यस्तै नायिकाहरूमा दिया मास्के र उषा रजकको अभिनयदेखि प्रभावित छु। खासमा अन्य कलाकारलाई प्रायः एउटै भूमिका र शैलीमा देखिन्छ। तर, उहाँहरूले हरेक फिल्ममा फरक शैलीमा काम गरिरहेको देखिन्छ। उहाँहरूमा अभिनय गर्ने क्षमता छ।

तपाईंले धेरै जना निर्देशकसँग काम गर्नुभयो। काम गर्न सजिलो लाग्ने निर्देशक को हुनुहुन्छ ?

म फिल्म खेल्न हतार गर्दिनँ। यस कारण पनि होला संख्यात्मकरूपमा मेरो त्यति धेरै फिल्म छैन। मलाई काम गर्न सजिलो लाग्ने निर्देशक दीपेन्द्र के खनाल हुनुहुन्छ। सायद उहासँग बढी फिल्म गरेर पनि होला। मलाई काम गर्न मन लागेको निर्देशकचाहिँ प्रशान्त रसाइली र मीन भाम हुनुहुन्छ।

तपाईंको ड्रिम रोल के हो ?

पूरै गेटअप नै चेन्ज गरेर पुरुष या समलिंगीको भूमिकामा काम गर्ने मन छ। फरक अनुभूतिका लागि फिल्ममा समलिंगी बन्ने मन छ। म महिला भएको हिसाबले महिला भएर त यसै पनि बाँचिसकेको छु। महिलाको भावनाको अनुभव छ। तर, आफूभन्दा फरक लिंग तथा समुदायको व्यक्तिका रूपमा अभिनय गर्दा कस्तो अनुवभ हँुदोरहेछ त भनेर हेर्न मन छ। हामीले अरूलाई देखेर महसुुस त गर्न सक्छौं। तर, महसुुस मात्र होइन, अरूको भोगाइ भोगेर उनीहरूलाई नजिकबाट चिन्ने र बुझ्ने रहर छ।

फिल्म छान्दा के कुरालाई ख्याल दिनुहुन्छ ?

सबैभन्दा पहिले फिल्म कसले निर्देशन गर्दै हुनुहुन्छ भन्ने कुरामा ख्याल गर्छु। किनभने निर्देशक राम्रो भएन भने जतिसुकै राम्रो स्क्रिफ्ट भए पनि त्यो फिल्म राम्रो बन्न सक्दैन। राम्रो र नराम्रो बन्नुमा त्यसको निर्देशकमा भर पर्छ। त्यसपछि स्क्रिफ्टमा ख्याल गर्छु। आफूलाई मन परेका स्क्रिफ्ट छ भने मात्र काम गर्छु। किनभने मलाई नाम र दाम कमाउनु छैन। थोरै फिल्म गर्ने तर राम्रो छानेर गर्ने बानी छ। त्यस कारण पनि संख्यात्मकरूपमा मेरो फिल्म कम छन्।

फिल्ममा लगानी धेरै भए पनि कलाकारको पारिश्रमिकचाहिँ निकै कम छ। समान पारिश्रमिक पनि छैन। कलाकारलाई मानिसको भिडभन्दा फरकरूपले हेरिन्छ। त्यहीअनुसार खानपान तथा लाइफ स्टाइललाई मेन्टेन गर्न धौ–धौ नै छ।

फिल्म खेलेपछि नाटकमा डेब्यु गर्नुभयो। फिल्म र थिएटरमा के फरक पाउनुभयो ?

फिल्म र थिएटरमा धेरै फरक छन्। फिल्ममा क्यामेराको अगाडि धेरै टेक लिएर काम गरिन्छ र यो प्रचारको हिसाबले धेरै मासमा पुग्छ। थिएटरमा प्रत्यक्ष काम देखाउन सकिन्छ। दर्शकले प्रत्यक्षरूपमा काम र क्षमता अनुभव गर्न सक्छन्। अभिनय सिक्न र निर्खानका लागि थिएटर राम्रो प्ल्याट फर्म हो।

नेपालमा महिला केन्द्रित फिल्म कम बनिरहेका छन् नि ?

तुलनात्मक हिसाबमा नेपाली फिल्म क्षेत्रमा यस्ता फिल्महरू कम बनिरहेका छन्। केही हदसम्म त्यस्ता फिल्म बनेका पनि छन्। तर, यो काफी छैन। महिलाका विषयमा अझै धेरै फिल्म बन्नुपर्छ। ओमन सेन्ट्रिक मुभी भनेपछि इमानदारिताका साथ नितान्त महिला केन्द्रित फिल्म बन्नुपर्छ।

कलाकारितामार्फत कहाँसम्म पुग्ने योजना छ ?

त्यस्तो गोल नै त छैन। बुढेसकालसम्म यही क्षेत्रमा काम गरेर सुरक्षा पन्तको फिल्म भनेर दर्शक हेर्न जाने खालका फिल्ममा अभिनय गर्ने रहर भने छ। राम्रो कन्टेन्ट भएका फिल्मका साथै फरक शैलीका फिल्ममा अभिनय गर्न सकौं भन्ने लाग्छ। ताकि मानिस सुरक्षा पन्तको फिल्म भनेपछि हेर्न जाऊन्।

अबको योजना के छ ?

फिल्म घरको प्रोमोसनका साथै मास्टरको लास्ट सेमेस्टरको परीक्षाको तयारी गर्नुछ। त्यसपछि आमा भन्ने फिल्मको सुटिङमा व्यस्त हुन्छ। दासढुंगा–२ नामक फिल्ममा पनि अभिनय गर्दै छु।