६ वटा विषयमा ३९ हजार विद्यार्थीले दिएनन् परीक्षा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षामा करिब ८४ वटा विषयमा परीक्षा लिइएकोमा ६ वटा अनिवार्य विषयमा ३९ हजार १ सय ५६ जना विद्यार्थी अनुपस्थित भएको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयको उक्त तथ्याङ्कअनुसार विज्ञानमा मात्रै सबैभन्दा धेरै ६ हजार ९ सय ९५ विद्यार्थी अनुपस्थित भएका छन्। त्यस्तै अनिवार्य अंग्रेजीमा ६ हजार ४ सय ९७, नेपालीमा ६ हजार ५ सय १५,  गणितमा ६ हजार ६ सय २, सामाजिक शिक्षा विषयमा ६ हजार ५ सय ९५ र स्वाथ्य, जनसंख्या र वातावरणमा ६ हजार ४ सय ५२ले परीक्षा दिएका छैनन्।
यस्तै गरी अर्थशास्त्रमा ४ हजार ५ सय १, अतिरिक्त गणितमा १ हजार १ सय ३९, अफिस मेनेजमन्ट एन्ड अकाउन्टमा १ हजार ९ सय ३१, हेल्थ एन्ड फिजिकल एजुकेसनमा १ हजार ४ सय, कर्मकाण्ड विषयमा २ हजार ७ सय ८४, पपुलेसन एजुकेसनमा ६ सय २४ विद्यार्थी अनुपस्थित भएका छन्।
राप बोर्डले यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको थियो।
तर ४ प्राविधिक धारबाहेक ४ लाख ४९ हजार मात्र विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अनिवार्य विषय गाह्रो भएकाले बढी विद्यार्थी अनुपस्थित भएको हुनसक्ने विश्लेषण गर्नुभयो। शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले विद्यार्थीको पढ्ने शैली र शिक्षकको पढाउने शैली मेल नखाएकाले यस्तो अवस्था आएको तर्क गर्नुभयो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले सबै विषयमा अनुपस्थित भएको भन्दा पनि केही विषयमा बढी विद्यार्थी अनुपस्थित भएको धारणा राख्नुभयो।
बोर्डको तथ्याङ्कअनुसार यो वर्षको परीक्षामा २ लाख ४१ हजार ४ सय ६३ विद्याथीर्ले डी र ई ग्रेड ल्याएका छन्। तीमध्ये २ लाख ६ हजार ६ सय ५० ले डी र २ लाख ३४ हजार ८ सय १३ ले ई ग्रेड ल्याएका छन्।