इलामका ५२ चिया कारखाना आईतवारबाट खोलिने


गणेश घिमिरे, इलाम ।
जिल्लाको सूर्योदयन गरपालिका क्षेत्रमा दुईदिनदेखि बन्द रहेका ५२ वटा चिया कारखाना आइतबारबाट खुल्दैछ । स्थानीय सरकारले तोकेको मूल्य अनुसारको हरियो पत्तिको मूल्य किसानलाई दिन नसक्ने जनाउँदै बिहीबारबाट सूर्योदय टि एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना बन्द गरीएको थियो ।

तर शनिबार उद्योगी र नगरपालिकाबीच भएको वार्तापछि चिया उद्योग खोल्ने सहमती भएको हो । नगरपालिकाले आव्हान गरेको छलफलमा सूर्योदय टी एसोसीएसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधि बिच लामो समयसम्म भएको वार्तापछि उद्योग खोल्ने सहमती भएको हो । सहमतीमा दुई पात एक सुईरो भएको हिरियो पत्तीको मात्र नगरले तोकेको मुल्यमा उद्यागीले खरीद गर्ने भएका छन् ।

सूर्योदय नगरपालिकाले गतबर्ष नै कार्यबिधि बनाएर हरियो पत्तिको मूल्यमा एकरुपता ल्याउन भन्दै प्रति किलो ४० रुपैंयाँ तोकेको थियो । दुईपात एक सुईरो भएको पत्तीको मात्र उक्त मूल्य दिने भनेर गतबर्ष नै सहमति भएपनि किसानले गुणस्तरहीन चिया ल्याएको र त्यसको पनि मूल्य दिनुपर्दा उद्योग घाटामा जाने भन्दै उद्योगलिे उद्योग बन्द गराएका थिए । शनिबार भएको सहमतिपछि अब उद्योगले दुई पात एक सुईरो भएको पत्तीमात्र खरीद गर्ने, चियाको दिर्घकालीन समस्या समाधानका लागि समिति बनाउने बिषयमा नगरपालिकासंग सहमति भएको सूर्योदय टी एसोसीएसनका सचिव गोपाल कट्टेलले बताउनुभयो ।

नगरपालिकाकी उप प्रमुख दुर्गादेवी भट्टराईले नगरले कार्यबिधिमा तोकेका सबै कुरा परिवर्तन नहुने भएपनि कतिपय बिषयमा दिर्घकालीन समाधान खोज्न छलफल र सहमति खोज्नुपर्ने बातावरण आएको बताउनुभयो । उद्योगीले उद्योग बन्द गर्दा हजारों चिया कृषक मारमा परेका थिए । सोहि नगरपालिकामा मात्र ४५ हजार रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ ।