मोरङमा सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका चारको मृत्यु


सरोज यादव, विराटनगर ।
मोरङको सुनवर्षी नगरपालिका ९ मुस्लिम टोलमा निर्माणधीन सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका ५ जना मजदुरमध्ये ४ जनाको निसासिएर मृत्यु भएको छ । एकजना मजदुर गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनवर्षि नगरपालीका ९ बस्ने ४५ वर्षीय मो. कफिल मियाँ, २२ वर्षीय उनका छोरा फिरोज उद्दिम, सोही स्थान बस्ने २२ वर्षीय सहनवाज उद्दिम, २१ वर्षीय वसिक आलम रहेका छन् । निसाएिर ३८ वर्षीय दाउद मियाको अवस्था गम्भीर छ । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

रंगेलीस्थित जिल्ला अस्पताल र टाइम्स हस्पीटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागी विराटनगरस्थित गोल्डेनमा उपचारका लागी ल्याउँदाल्याउँदै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । चिन्ताजनक अवस्थामा उपचारका लागि ल्याउँदा समयमै डाक्टर उपलब्ध नभएको भन्दै घाइतेका आफन्तजनहरुले रंगेली अस्पतालमा नाराबाजी र सामान्य तोडफोडसमेत गरेका छन् ।

स्थानीयबासी डोमर अलिका अनुसार मर्कज मस्जीदको निर्माणधीन सेफ्टी ट्यांकीको ढलान गरेको बाँस खोेल्न ट्यांकी भित्र पसेका मजदुर निसासिएर अचेत भएपछि एकपछि अर्कोको उद्दार गर्न छिर्दा सबै जना बेहोस भई लडेको बताइएको छ ।