राष्ट्रिय वृक्षारोपण दिवस, दार्चुलामा पाँच हजार बोट रोपिए


किरन धामी, दार्चुला ।
राष्ट्रिय वृक्षारोपण दिवस २०७६ को अवसरमा दार्चुला जिल्लामा विभिन्न जातका पाँच हजार बोट वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा शुक्रबार र शनिबार गरी दुई दिनमा विभिन्न जातका करिव पाँच हजार बोट रापिएको डिभिजन वन कार्यालय दार्चुलाका सहायक वन अधिकृत अमर सिंह धामीले जानकारी दिनुभयो । “हरेक नागरिकले आफ्नो वरपर बिरुवा रापौँ, राष्ट्रिय वृक्षारोपण वर्ष २०७६ भव्यताका साथ सफल पारौ” भन्ने नाराका साथ दार्चुलामा पनि राष्ट्रिय वृक्षारोपण दिवस पाँच हजार बोट रोप्दै मनाइएको छ ।

सरकारले यस वर्ष देशै भरी ३ करोड बोट रोप्ने लक्ष्य लिए अनुरुप दार्चुलामा पनि वृक्षारोपण गरिएको उहाले जानकारी दिनुभयो । एक विरुवा एक नागरिक कार्यक्रम अन्र्तगत असार १४ गते परेका राष्ट्रिय वृक्षारोपण दिवसमा वृक्षारोपण गरिएको उहाको भनाई छ । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको ढुकुरा सामुदायिक वन बाजमा शुक्रबार र शनिबार गरी ३ हजार बोट रोपेको उहाले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ५ मा रहेको मालिकार्जुन मन्दिर परिषर तथा नेपाली सेनाको दुर्गादल गुल्म परिषरमा समेत बोट रोपेको उहाले बताउनु भयो ।

सरकारले यो वर्षलाई वृक्षारोपण वर्षको रुपमा घोषणा गरे अनुसार वर्ष भरी वृक्षारोपण गरिने उहाले बताउनु भयो । डिभिजन वन कार्यालय अन्र्तगत रहेका खलंगा, धाप र गोकुलेश्वरको नरसरीमा करिव १ लाख विरुवा उपलब्ध रहेको भन्दै जिल्ला बासी सबैले नरसरीबाट बोट लगेर रोप्न सक्ने उहाले बताउनु भयो । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा जिल्लाका प्रमुखहरुले वृक्षारोपण गर्नु भएको छ । जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की, जिल्ला न्यायाधिस गिरीराज गौतम, नेपाली सेनाका सेनानी गणेश रावल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक भिमबहादुर चन्द, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाही लगायतले वृक्षारोपण गर्नु भएको छ ।

दिवसको अवसरमा ढुकुरा वन तथा मन्दिर परिषरमा बाँस, तेजपात, इपिल, सिमल, बकाइनोका बोटहरु रोपिएको उहाले बताउनु भयो । बोट संरक्षणमा निकै चुनौती देखिएको छ । विगतका वर्षहरुमा पनि विभिन्न दिवसको अवसरमा वृक्षारोपण गरिने तथा संरक्षण नहुँदा वृक्षारोपण खासै प्रभावकारी नभएको पाइएको छ । विगताक वर्षहरुमा वृक्षारोपण गरिएको स्थानमा यस वर्ष पनि वृक्षारोपण गरिएको छ । विगतमा रोपिएका बोटहरुको संरक्षण नहुँदा त्यसै हराएर जाने गरेका छन् ।