घरै बसेर पत्रकारितामा बीए–एमए गर्ने अवसर निकट भविष्यमै


कपिल काफ्ले, काठमाडौं । घरमै साँझ–बिहान दूरशिक्षा पद्धतिबाट आम सञ्चार तथा पत्रकारिता विषयमा अध्ययन गरेर स्नातक र स्नातकोत्तर गर्ने कार्यक्रम सुरु गर्ने प्रयोजनले तयार पारिएको प्रतिवेदन शुक्रबार टास्क फोर्स टिमले नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक लेखनाथ शर्मालाई बुझाएको छ ।

नेपाल सरकारले विधिवत सञ्चालन गरेको नेपाल खुला विश्वविद्यालयले पत्रकारिता प्रशिक्षणमा विगत ३६ वर्षदेखि समर्पित पुरानो संस्था नेपाल प्रेस इन्ष्टिच्यूटमा ‘आम सञ्चार अध्ययन’ को बीए तथा एमएको कोर्स यही सेप्टेम्बरबाट सुरु गर्ने योजनाका साथ तीन महिनाको अवधि दिएर प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा दुई महिनाअघि टास्क फोर्स गठन गरेको थियो ।

टास्क फोर्स टिममा प्राध्यापक पी. खरेल, डा. पियूष मिश्र, डा. विशाल भण्डारी र सञ्चारकर्मी कपिल काफ्ले सदस्य रहनुभएको थियो ।
नेपाल प्रेस इन्ष्टिच्यूटले सातै प्रदेशमा प्रत्यक्ष कक्षाका लागि व्यवस्था गर्ने योजनाका बनाई काम गर्दैछ, हाल इन्ष्टिच्यूटसँग प्रदेश नम्बर एकको विराटनगर र पाँचको नेपालगञ्जमा आफ्नै भवनमा मिडिया रिसोर्स सेन्टर चल्दै आएको छ भने राजधानीमा केन्द्रीय कार्यालय सञ्चालनमा छ ।

उपकुलपति शर्मा भन्नुहुन्छ, खुला विश्वविद्यालयको पाठ्क्रमप्रति उच्च आकर्षण छ, पछिल्लो सेमेष्टरमा २ सय ८० जना विद्यार्थी भर्ना गर्न आवेदन मागेका थियाैँ, अहिलेसम्म ९ सयको आवेदन परेको छ । अहिले सोसल साइन्स एण्ड एजुकेशन र साइन्स, हेल्थ एण्ड टेक्नोलोजी संकायका सात विषयमा विद्यार्थी भर्ना खोलिसकिएको पनि उहाँले बताउनुभएको छ । उहाँ आम सञ्चार अध्ययनमा योभन्दा बढी आकर्षण हुने विश्वास व्यक्त गर्नुहुन्छ ।

उपकुलपति शर्मासँगको विशेष अन्तर्वार्ता पढ्नुहोस्:

घरै बसेर उच्च शिक्षा हासिल गर्नेहरूको चापाचाप छः उपकुलपति शर्मा