पैतिस किलो गाँजासहित दुई पक्राउ

0
Shares

पर्सा ।  प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बहुदरमाई नगरपालिका–५ बर्वा टोलमा ३५ किलोग्राम गाँजासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

नियमित जाँचका क्रममा नगरपालिकाको भौराटार निवासी वर्ष ५५ का मदन साह र भारत बिहारको समस्तीपुर निवासी वर्ष ३५ का आनन्दी महतोको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिनुभयो ।

उहाँले नेपालबाट खरीद गरिएको गाँजा भारत तर्फ लैजाने क्रममा दुई जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

यसैबीच पर्साको सखुवाप्रसौनी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गाईको गोठ सफा गर्ने क्रममा बिजुलीको नाङ्गो तारमा टाँस्सिएर गम्भिर बिरामी भएकी बहुदरमाई गाउँपालिकाको वडा नं १ निवासी वर्ष ५८ की चान्दतारा देवीलाई उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शव परीक्षणका लागि वीगञ्जको नारायणी अस्पतालमा राखिएको छ ।
रासस