नक्कली बिलबुक र चोरीका मोटरसाइकलसहित एक पक्राउ


चितवन ।
जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो मात्रामा नक्कली बिलबुक र चोरीका मोटरसाइकल सहित गिरोहका नाइकेलाई पक्राउ गरेको छ । चितवन प्रहरीबाट खटिएको विशेष टोलीले आज शारदानगर रानीपोखरी स्थित रोहित मोटरसाईकल वर्कसपमा छापा मार्दा २६ वटा विभिन्न कम्पनीका मोटरसाईकल, ईन्जिन नभएका च्याचिस ८ थान, विभिन्न व्यक्तिका नाममा रहेका ५३ थान विलबुक समेत वरामद गरेको चितवन प्रमुख एसपी दानवहादुर मल्लले बताए।

गिरोहका नाइकेले नेपाल तथा भारतबाट चोरीका मोटरसाईकल ल्याई, काटी, तथा अल्टीपल्टी बिक्रि वितरण गर्दै आएको पहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको एसपी मल्लले बताए । प्रहरीले चितवनका रोहित श्रेष्ठ,बाराका कृष्ण शाह, महाबिर चौधरी र भारतीय नागरिक राजाकुमारलाई पनि पक्राउ गरेको छ। अरु नाइकेहरु फरार रहेको प्रहरीले जनाएको छ।

चितवनमा देसभरीबाट चोरी भएका मोटरसाइकलको खरिद बिक्री हुने गरेको सुचनाका आधारमा प्रहरीले अप्रेशन शुरु गरेको जनाएको छ। रोहित श्रेष्ठले चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखी गुण्डा नाइकेसम्म सेटिङ मिलाएर गिरोहले अबैध कारोबार गर्दै आएका थिए । प्रहरी महानिरीक्षकको सचिवालयमा चितवन चोरी गिरोहको अखडा बनेको भन्दै उजुरी परेपछि आईजीपी सर्वेन्द्र खनालले चितवनका एसपी दानवहादुर मल्ललाई गिरोहको जालो तोड्न निर्देशन दिएका थिए ।