तीन स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेनन्

0
Shares

विनोद सिंह विष्ट, बैतडी । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याईसक्नुपर्ने भएपनि बैतडीका ३ नगरपालिकाले अझै पनि अगामी आर्थिक बर्ष २०७६ /०७७ का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महीनाको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगर सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर दशरथचन्द नगरपालिका , पाटन नगरपालिका र पुर्चौडी नगरपालिकाले बजेट सार्वजनिक गर्न नसकेका हुन् ।

तयारी नपुगेको असार १० मा बजेट ल्याउन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताउनुभयो । शनिवार नगरकार्यपालिकाको बैठक रहेको र आइतवार अगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत हुने उहाँले बताउनुभयो । पाटन नगरपालिकामा पनि आइतवारसम्म बजेट सार्वजनिक गर्ने तयारी भएको नगरउपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभयो ।

यस्तै पुर्चौडी नगरपालिकाले असार २० गतेपछी मात्रै अगामी बर्षको बजेट सार्वजनिक हुने जनाएको छ । वडास्तरमा योजना तर्जमा काम नसकिएको, टोलभेला,बस्तीभेला पनि जारी रहेको कम्तीमा पनि १ हप्ता अझै लाग्ने नगरप्रमुख रणबहादुर कुँवर बताउनुभयो ।
जिल्लामा रहेका १० ओटा स्थानीय तह रहेको बैतडीका ७ स्थानीय तहले भने यसअघि बजेट प्रस्तुत गरिसकेका छन् । मेलौली नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका,डिलाशैनी गाउँपालिका , शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले बजेट सार्वजनिक गरिसकेका हुन् ।

डिलाशैनी गाउँपालिकाले ४६ करोड ६२ लाख ४२ हजार , मेलौली नगरपालिकामा ३७ करोड ६५ लाख ८९ हजार, शिवनाथ गाउँपालिकाले २८ करोड ७९ लाख १५ हजार ७९२ रुपैयाको बजेट सार्वजनिक गरिसकेकोे छ । यस्तै दोगडाकेदार गाउँपालिकाले ४७ करोड ५ लाख ९३ हजार , सिगास गाउँपालिकाले ४१ करोड ६६ लाख २३ हजार, सुर्नया गाउँपालिकाको ३१ करोड र पञ्चेश्वर गाउँपालिकाले ३३ करोड ४४ लाख ५० हजार बजेट प्रस्तुत भएको छ ।

बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् ।