सल्यानमा उत्कृष्ट १० किसान पुरस्कृत, हौसला मिलेको किसानको भनाई

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा १० जना किसान पुरस्कृत भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले कृषि पेशा अंगालेर उदाहरणिय बनेका किसानलाइ शुक्रबार पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा नमुना फलफुल खेती गरेर उदाहरणीय बनेका कपुरकोट ५ रीमका पूर्भान पुन, वडा नम्बर ४ का किसान युवराज रावत रहेका छन् । पुनले अनार, स्याउ तथा कागती खेती गरेका छन् भने रावतले वार्षिक ५० क्वीन्टल बढि सुन्तला विक्रि गर्ने गरेका छन् । सुन्तला विक्रिबाट मात्रै वर्षमा ४ लाख ५० हजार बढि आम्दानी हुने गरेको उहाँले बताउनु भयो ।

यस्तै मौरी पालन तर्फ कपुरकोट २ का भिम बहादुर घर्ती पुरस्कृत भएका छन् । ४० घार मौरी पालन गरेका उहाँले घारको संख्या बढाउने तयारिमा रहेको बताउनु भयो । यस्तै तरकारि खेती तर्फ १४ रोपनी जमिनमा तरकारी खेती गरेका कपुरकोट ५ का अमर राना, कपुरकोट १ का तुल बहादुर पुन, बम बहादुर कवर, कपुरकोट ३ का भिम बहादुर बुढा, वडा न ४ का बालाराम बाँठा, वडा न ६ का नविन के सी रहेको कृषि सेवा शाखा कपुरकोटका प्रमुख टिका राईले बताउनु भयो ।। खाद्यान्न वाली तर्फ विउ उत्पादनमा उत्कृष्ट बनेका कपुरकोट २ का टोप बहादुर घर्ती पनि पुरस्कृत भएका छन् ।

किसानहरुलाइ कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगरले नगद पाँच पाँच हजार र सम्मान पत्र प्रदान गर्नु भएको हो । पुरस्कृत भएपछि झन आफुहरुलाइ कृषिमा केहि गर्ने हौसला मिलेको किसानहरुले बताएका छन् । कृषि विकास शाखा तथा कृषक मुल समितीले गरेको मुल्याांकनको आधारमा उनीहरु छनौट भएका हुन् ।

पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सेनले किसानहरुले नै गाउँपालिकाको मुहार फेर्न सक्ने जनाउदै गाउँपालिका किसानहरुको प्रोत्साहनको लागी योजना बनाएर अघि बढिरहेको बताउनु भयो ।