विराटनगरमा अढाई करोडको लागतमा ब्याटमिन्टन हल बन्ने

0
Shares

सरोज यादव, विराटनगर ।

प्रदेश १ को राजधानी विराटनगरमा आधुनिक ब्याटमिन्टन हलको निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा शुक्रबार विराटनगर ब्याटमिन्टन क्लबको कभर्ड हलको शिलान्यास गर्नुभएको छ ।

विराटनगर–७ स्थित हाटखोलामा निर्माण हुन लागेको अन्तर्राष्टियस्तरको कभर्ड हल एक वर्षभित्र निर्माण पूरा हुने भवन उपभोक्ता समितिका सचिव डिल्लीराम डाँगीले बताउनुभयो ।

महानगरपालिकाले सिंघिया खोला नजिक दिएको ६ कठ्ठा जग्गामा करिब अढाइ करोड रुपैयाँको अनुमानित लागतमा भवन निर्माण हुने समितिले जनाएको छ । प्रदेश सरकार, महानगरपालिका र अन्य विभिन्न दाताबाट चन्दा संकलन गरी आधुनिक कभर्ड हल निर्माण हुनेछ ।

४ वटा कोर्ट, दर्शकका लागि प्याराफिट, बाथरुम, चेन्जिङ रुम र जिम हलसहितको कभर्ड हल निर्माण हुनेछ । शिलान्यासका क्रममा मन्त्री घिमिरेले भवन डिजाइन हेर्दा एकदमै राम्रो देखिएको र यो निर्माण पूरा गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै महानगरपालिकाका प्रमुख पराजुलीले भवन निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकार मात्रै नहुने भन्दै संघीय सरकार र अन्य सरोकारवालसँग सहकार्य गरिने बताउनुभयो ।