विप्लबलाई मूल धारमा ल्याउन पूर्व राष्ट्रपतिको आग्रह

0
Shares

यमलाल भुसाल, बुटवल ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विप्लव समूहलाई वार्ताका माध्यमवाट मूल धारमा ल्याउन सरकारसंग आग्रह गर्नुभएको छ ।

उहाँले युद्ध मुलुकले थेग्न नसक्ने भएकोले युद्धरत विप्लव समूहलाई निषेध नगरी वार्ताको माध्यमवाट शान्तिको मूलधारमा ल्याउनु पर्ने बताउनु भयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति यादवले लोकतन्त्रका आधारभूत मान्यताहरुलाई स्वतन्त्र वनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

लोकतन्त्र ल्याउन मिडियाको महत्वपूर्ण भूमिका भएको बताउँदै उहाँले लोकतन्त्रलाई बलियो बनाउने काम पनि मिडियाको भएको उल्लेख गर्नुभयो ।
पूर्वराष्ट्रपति डा. यादवले लामो संघर्ष र आन्दोलनबाट नेपाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाकी काम पनि छिटो पूरा गर्नुपर्ने बताउनु भयो ।

उहाले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अव ढिला गर्न नहुने बताउनु भयो ।

पूर्व राष्टपति डा. यादवले प्राकृतिक श्रोत र पर्यावरणलाई जोगाउन सबै नेपाली सचेत भएर लाग्नुपर्ने बताउनु भयो ।

जल, जमिन र जंगल बचाउनका लागि सवैले मिलेर अघि बढ्नुपर्ने भन्दै उहाँले विकास गर्दा बाताबरणीय सन्तुलन नविगार्ने गरी गर्नुपर्ने भनाई राख्नुभयो ।