लिफ्ट सिंचाईको सफल परिक्षण

0
Shares

बुद्ध नेपाली, सुनकोशी ।

सिन्धुलीको सुनकोशी गाउपालिका ३ मा निर्माण भएको गाउपालिकाकै पहिलो सुनकोशी–गुठबजार लिफ्ट सिँचाई योजनाको सफल परिक्षण गरिएको छ ।

सुनकोशी गाउपालिकाको २८ लाख ५० हजार र उपभोक्ताको करिव १६ लाख ऋण सहयोग गरी करिव ४५ लाख ५० हजार लागतमा निर्माण भएको लिफ्ट सिँचाई योजनाको सफल परिक्षण गरिएको हो ।

लिफ्ट सिंचाई योजनाको सफल परिक्षण भएसँगै सुनकोशी गाउपालिका ३ का करिव २ सय किसान सिंचाई सुविधाबाट लाभान्वित हुने भएका छन् । विद्युत लिफ्ट प्रविधि मार्फत सुनकोशी नदीबाट ९० मिटर माथी विपी राजमार्ग नजिक गुठबजारमा पानी झार्ने गरी लिफ्ट योजना निर्माण गरिएको छ ।

एक बर्ष लगाएर निर्माण गरिएको लिफ्ट सिंचाई योजनाले प्रतिघण्टा दुई लाख लिटर पानी कुलोमा झार्ने सुनकोशी–गुठबजार लिफ्ट योजना निर्माणका अगुवा तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सुनकोशी गाउपालिका अध्यक्ष अशोकराज गिरीले जानकारी दिनुभयो ।

उक्त योजनाबाट झाँगाझोली फाँट, माझी कुलो फाँट लगाएत त्यस क्षेत्रका १३ सय रोपनी खेती योग्य जमिनमा सिंचाई सुविधा पुग्ने अध्यक्ष गिरीको भनाई छ । सुनकोशी नदीबाट ९ इन्चीको पाईपमा पानी तानिएको छ । तल सुनकोशी नदी भएपनि नदी माथिको सुनकोशी गाउपालिकाको सयाँै रोपनी खेती योग्य जमिन सिंचाई अभावमा बाझै बस्ने गरेका छन् ।

अहिले लिफ्ट योजना निर्माण भएको ठाउँमा पनि सिंचाईका लागी पानी नहुदाँ किसानले पर्याप्त अन्नबाली उत्पादन गर्न सकेका थिएन् । तर अव लिफ्ट सिंचाई योजनाबाट पानी आउने भएपछि अन्नपात, तरकारी फलफुल उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

गाउपालिकामा पानीको अभाव भएपछि सुनकोशी गाउपालिकाले लिफ्ट खानेपानी तथा लिफ्ट सिंचाईलाई जोड दिएको छ । गाउपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७६/०७७ को निति तथा कार्यक्रम र बजेटमा पनि लिफ्ट खानेपानी तथा लिफ्ट सिंचाईको २५ प्रतिशत महशुल अनुदान दिने गाउपालिकाले जनाएको छ ।