इलाममा फेरी बल्झियो चिया समस्या, ५२ वटा चिया कारखाना बन्द

0
Shares

गणेश घिमिरे, इलाम ।
इलाम सूर्योदय नगरपालिकाका उद्योगीले बिहीबारबाट तीनदिनका लागि चिया कारखाना बन्द गरेका छन् । किसानलाई नगरपालिकाले तोके अनुसारको हरियोपत्तीको मूल्य दिन नसकेको भन्दै एसोसिएसनमा आबद्ध ५२ वटा उद्योग बन्द गरेका हुन् ।

नगरपालिकाले तोकेको मूल्य किसानलाई दिँदा उद्योग डुब्ने अवस्थामा पुगेको भन्दै बन्द गराएका हुन् ।

एशोसिएसनले उद्योग बन्द गरेपछि सूर्योदय नगरपालिकाले उद्योगीलाई छलफलका लागि आउँदो शनिबार बोलाएको छ ।

शनिबार नगरपालिका र उद्योगीबीच छलफल पश्चात के निर्णय हुन्छ, त्यसै अनुसार अघि बढ्ने एशोसिएसनका सचिब गोपाल कट्टेलले बताउनुभयो ।

सूर्योदय नगरपालिकाले भने चियामा गुणस्तर कायम गर्नका लागि अनुगमन गर्ने तर किसानले पाउने न्यूनतम् मूल्य कायम नै राख्ने नगरपालिकाले अडान लिँदै आएको छ । नगरपालिकाले तोकेको मूल्य दिन नसक्ने भन्दै एशोसिएसनले यसअघि नै नगरपालिकालाई पत्र पठाएपनि केहि सुनुवाई नभएपछि चिया कारखाना बन्द गर्न बाध्य भएको एशोसिएसनले जनाएको छ ।

चियाले लागत मूल्य धान्न नसकेको, तोकिएको मापदण्डको पत्ती उद्योगमा नआएको, ४० प्रतिशतभन्दा कमको पत्ती उद्योगले फर्काउन नसक्नेजस्ता कारणले गर्दा उद्योग बन्द गरेको बताइएको । ५२ वटा उद्योगमा ३ हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधनका लागि आउने गर्दछ । यहाँका उद्योगबाट तयरी चिया भारत र तेस्रो मुलुकसम्म जाने गर्दछ ।

नगरपालिकाले गतवर्ष किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ४० रुपैयाँ दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यबिधि’ पारित गरेको थियो । चिया उद्योगी र किसान समेतको सहभागितामा पारित गरिएको कार्यबिधिमा किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात १ सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने उल्लेख छ ।

किसानदेखि हरियो चिया संकलक, उद्योगी, विक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था कार्यबिधिले गरेको छ ।

गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि छ । गतवर्ष नगरले तोकेकै मूल्यमा किसानले हरियो चिया बेच्न पाएका थिए । तर, यो पटक उद्योगीले हरियोपत्तीको गुणस्तर कायम गराउन नसकेको बताएका छन् ।

उद्योगमा गुणस्तरहीन हरियोपत्ती आउँदा तयारी चियामा गुणस्तर कायम नहुने र थोरै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको सचिब कट्टेलको भनाई छ । गुणस्तरहीन हरियोपत्तीको मूल्य न्यूनतम् ४० रुपैयाँ प्रतिकिलो दिनुपर्दा समस्या आएको हो ।