पुल निर्माणमा ढिलासुस्ती नगर्न दिप्रुङबासीको खबरदारी

0
Shares

रामधन राई,खोटाङ ।  खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिका र खानीडाँडा विमानस्थल जोड्ने साप्सुखोला पक्की पुल निर्माणमा ढिलासुस्ती नगर्न स्थानीयले सुझाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने उक्त विमानस्थलसँग जोड्ने मोटरेवल पुल शिलन्यास तथा सार्वजानिक सुनुवाई कार्यक्रमका सहभागीले गुणस्तरमा समेत ख्याल गर्न सुझाव दिएका हुन् ।

खाल्ले र याम्खाबीचमा रहेको साप्सुखोलाको प्रिस्ट्रेस बिम पुलले दिप्रुङ चुईचुम्माबासीको भाग्य, भबिश्य तथा बिकास र समृद्दि जोड्ने हुनाले समयमै सम्पन्न गरिदिन स्थानीयको आग्रह छ । ‘हामीले सुनेका छौं, जानेका छौ, देखेका छौं की दुई बर्षमा सकिने पुल १० बर्ष लागेको छ, जनताले २ बर्षदेखि सुविधा पाउनुपर्नेमा ८ बर्षसम्म बञ्चित हुनु परेको छ ।’ खोलाको किनारमा आयोजित कार्यक्रममा स्थानीय शरणकुमार राईले भन्नुभयो–‘हामी स्थानीयले पनि बारम्बार यसमा चासो देखाउँ र समयमै गुण्स्तरीय पुल निर्माणका लागि हामीले गर्नुपर्ने सहयोग गरौं ।’

पुलको शिलन्यास अगावै आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले कुनै कुनै पनि बहानामा ढिलासुस्ती गर्न र गुणस्तरहिन नबनाउन निर्माण ब्यवसायीलाई आग्रह गर्नुभएको छ । निर्माण क्रममा आईपर्ने समस्या तथा बाधाहरुको समाधान गर्न गाउँपालिका हरदम जुट्ने तर सम्झौता बमोजिम पक्की पुल निर्माणमा नभएमा कानुन बमोजिम कारवाहीमा उत्रने उहाँले स्पष्ट पार्नुभयो ।

‘हामी जनप्रतिनिधिहरु तपाईंहरुलाई हरदम निगरानी राख्छौं र हरदम सहयोग पनि गछौं ।’ निर्माण ब्यवसायीलाई ईंगित गर्दै गाउँपालिका प्रमुख राईले भन्नुभयो–‘हामी हरेक हिसावले सहयोग गर्छौं तर त्यति गर्दा–गर्दै पनि पुल समयमा बनेन भने त्यो तपाईंहरुको लागि पनि फेरि फलामकै चिउरा बन्छ ।’

पुल निर्माणको ठेक्का लिएको निर्माण कम्पनी सूर्य एण्ड सन्स प्रालिका साईड ईन्चार्ज हरिप्रसाद बरालले पुल निर्धारित समयमै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्दता जनाउनुभएको छ । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाई तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो । यदि कम गुणस्तरको बनेमा सो प्रकृतिको पुल निर्माणकै क्रममा अर्थात तार तन्काउँदा नै भत्कने हुनाले गुणस्तरमा शंका गर्नुपर्ने कुनै ठाउँ नै नभएको बरालले स्पष्ट पार्नुभयो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खादेखि खानीडाँडा जोड्ने सडक खण्डमा पर्ने पुल २०७८ साल जेठ १७ गते सम्पन्न गर्ने गरी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको हो । ४० मिटर लम्बाई भएको पुल निर्माणका लागि २०७६ साल जेठ १७ गते सम्झौता भएको थियो ।
दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने पुल मुल्य अभिबृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैंयाँमा ठेक्कामा लिएका हुन् ।

पुल निर्माणका लागि प्राविधिक सहयोग गरिरहेको स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) का प्रतिनिधि, स्थानीयबासी, निर्माण व्यवसायी लगायतको उपस्थितिमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले साप्सु खोलामा पुल शिलान्यास गरेका हुन् ।

स्थानीय तहको हरेक योजनालाई पारदर्शी बनाउन र सुशासन कायम गर्नका लागि निर्माणको सुरुमै सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक विभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो ।

साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा नजिक पर्दछ ।