प्युठानमा झण्डै तीन हजारले पाए रोजगारी

0
Shares

सलिम अन्सारी,प्युठान । प्युठानका ९ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार लागू भएपछि २ हजार ७ सय २७ जना श्रमिकले काम पाएका छन् ।

जिल्लामा १७ हजार नौ सय १६ जनाले रोजगारी माग्दै आवेदन दिएका थिए । अहिलेका लागि एक महिनाको काम पाएका उनीहरुले अब वर्षेभरी काम पाउनुपर्ने माग गरेका छन् । प्युठान नगरपालिकामा ३ सय ८ जना, स्वर्गद्धारी नगरपालिकामा १ सय ८० जना, सरुमारानी गाउँपालिकामा १ सय २०, ऐरावती गाउँपालिकामा २ सय ८० जना, माण्डवी गाउँपालिकामा १ सय २० जना,मल्लरानी गाउँपालिकामा १ सय २५ जना, नौबहिनी गाउँपालिकामा ३ सय ४४ जना, झिमरुक गाउपालिकामा ८ सय १७ जना र गौमुखी गाउपालिकामा ६ सय जना गरी जिल्लाका नौ वटा स्थानीय तहका २ हजार ७ सय २७ जनाले काम पाएका हुन ।

श्रमिकको ज्याला ६ सय रुपैयाँ निर्धारण गरिएको छ। उनीलाई मोटरबाटो खन्ने, कुलो निर्माण गर्ने, भवन, सरसफाइ, बृक्षारोपण गर्ने लगायतका काममा खटाईएको छ । स्वर्गद्वारी नगरपालिकाका रोजगार संयोजक अनिल पाण्डेले रोजगारी माग गर्दै आवेदन दिएका ४ हजारमध्ये १ सय ८० जनालाई रोजगार दिएको छ बताउनुभयो । उहाँका अनुसार उनीहरूले सडक, कुलो मर्मत, नाला निर्माणलगायतका काम गरिरहेका छन् । रोजगार कार्यक्रमका लागि नगरपालिकाले ४६ लाख रुपैयाँ विनियोजन गरेको उहाले जानकारी दिनुभयो।

रोजगारी पाएपछि स्थानीयको दैनिकी समेत फेरिएको छ । सरुमारानी गाउँपालिका ४ की श्यामकली बिकले गाउँघरमै काम पाउँदा खुसी भएको बताउनुभयो । पहिले यो कार्यक्रम लागु हुनेमा धेरैले शंका गरे पनि अहिले लागू भएपछि भने खुसी भएको स्वर्गद्धारी नगरपालिका रोजगार संयोजक पाण्डेको भनाइ छ ।उक्त कार्यक्रमका लागि जिल्लाका सवै स्थानिय तहमा गरि साढे तीन करोड रकम बिनियोजन भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिका तर्फ प्युठान नगरपालिकाले सवैभन्दा बढि रकम ५५ लाख र झिमरुक गाउपालिकाले ४१ लाख रुपैया बजेट बिनियोजन गरेको छ।प्युठानमा धेरैजसो महिला काममा खटिएका छन।