गुमेको आँखाको ज्योति ८० बर्षको उमेरमा फर्किएपछि

0
Shares

विनोद सिंह विष्ट, बैतडी । मोतिविन्दुका कारण दुईवटै आँखाको ज्योति गुमाएकी बैतडीको दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीकी ८० बर्षीया खण्डी ओडले नयाँ दृष्टि पाएकी छन् । बुढेसकलामा नयाँ दृष्टि पाएसंगै खण्डी निकै खुसी छेखिन्छीन् ।
गेटा आँखा अस्पताल कैलालीको आयोजना र नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाइटी बैतडीको समन्वयमा जिल्ला अस्पतालमा निःशुल्क आँखा शिविरको आयोजना गरीएको थियो । उक्त शिविरमा आएर खण्डीले आँखाको शल्यक्रिया गराएकी हुन् । दुबै आँखा नदेख्ने भएर समस्यामा परेकी खण्डी आँखाको दृष्टि फर्किएपछी उनी खुसी लागेको बताईन् उनले भनिन्“बुढेसकालमा संसारलाई दोस्रो पटक देख्न पाए”

दुवै आँखाको शल्यक्रिया पछि खण्डीले पहिले जस्तै दुवै आँखा देख्न सक्ने भएकीछन्
आँखाको ज्योति फर्केला भनेर सोचेको थिएन् तर बिना पैसा संसारलाई फेरी एकपटक हेर्न पाए उनले थपिन् “संसार अन्धकार थियो ज्योति पाए खुसी छु”

आँखाको शल्यक्रिया नेत्रविशेषज्ञ तथा गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले गरेका थिए ।
दुवै आँखा बन्द भएपछि स्थानीयको सल्लाहमा आँखा उनलाई शिविरसम्म ल्याएको हो । शिविरमा २० रुपैंया पर्खाको मात्रै राखिएको थियो। “२० रुपैयाँ तिरेर आँखा देख्ने भए । १० वर्षदेखि एउटा आँखा देख्दैन थिए, खण्डीले भनिन् “घरको आर्थिक स्थिती कमजोर थियो टाढा गएर शल्यक्रिया गराउन सकिने अवस्था थिएन्”

यस्तै शिविरमै आँखाको ज्योति पाएसंगै दोगडाकेदार गाउँपालिका ४ भण्डारीगाडकी माधवी भण्डारीको पनि दंग छिन् । ६७ बर्षीया माधवीको पनि दुबै आँखाको ज्योती गुमेको थियो दुईदिने शिविरमा एक आँखाले उनले पनि संसार देख्ने भएकी छिन् । बुधवार र बिहीवार सञ्चालन भएको शिविरमा बिहीवार अन्तिम दिन आएकोले एउटा आँखाको मात्रै ज्योति पाएकी हुन् । एक दिनमा एक आँखाको मात्रै शल्यक्रिया गरिने रहेछ उनले भनिन् “एक आँखाले भएपनि संसार देख्न पाए ” उनले थपिन्“ घरमा कोही नयाँ मान्छे आउँदा को हुनुहुन्छ भनेर सोध्नुपर्थ्यो, अब ति दिन गए सबैले देख्ने चिन्ने भएकी छु ”

दुबै आँखाको ज्योति गुमेपछी आर्थिक स्थिती कमजोर भएकै कारणले शल्यक्रिया गराउन नपाएका दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीका ६५ बर्षिय धनबिरे लुहार पनि दुबै आँखाका ज्योति पाएका छन् ।

गुमेको आँखाको ज्योति पुनः पाउँने यीनीहरुले केही पात्रहरु मात्रै हुन् तर जिल्ला अस्पतालमा असार ११ र १२ गते सञ्चालन भएको निशुल्क आँखा शिविरमा ४१५ जनाले उपचार गरिएको थियो । जसमध्ये ७३ जनाको आँखाको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए । उपचार गराएकामध्ये २२३ महिला र १९२ पुरुष रहेका छन् । यही तथ्यांकलाई आधार मान्ने हो भने पुरुषभन्दा महिला आँखाको समस्याले ग्रसित छन् ।

घराँयसीदेखि हरेक कामहरुमा महिलाहरुले बढी सक्रिय हुने भएका कारण बैतडीमा आँखाको समस्या बढी जस्तो महिलामा देखा पर्ने गरेको नेत्रविशेषज्ञ तथा गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तको भनाई छ । ६२ प्रतिशत अन्धोपन मोतिविन्दुकै कारणले हुने गरेको छ । आँखाको समस्या ५० भन्दा बढी उमेर समूहका नागरिकमा बढी रहेको समेत उनले बताए ।

२० रुपैंया पर्चाको मात्रै शुल्क राखेर यसअघि बैतडीका अन्य स्थानीय तहमा पनि आँखा शिविर सञ्चालन गरिएका थिए ।
जिल्ला अस्पताल बैतडी, गाँजरी,कुँलाउ, श्रीकोट र पाटनमा सम्पन्न निःशुल्क आँखा शिविरवाट दुई हजार तीन सय ८६ जनाले सेवा लिएका हुन् । जसमध्ये ३०८ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएकोे छ ।