प्रादेशिक संरचनाको पहिलो एसईई नतिजा सार्वजनिक


पुष्कर बुढाथोकी, भक्तपुर
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमिततर्फको नतिजा हिजो बिहीबार प्रकाशित गरेको छ । कार्यालयले यस वर्षदेखि पहिलोपटक प्रादेशिक संरचनाको स्वरुपअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको एसईई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नतिजाअनुसार नियमिततर्फ १६ हजार ८ सय ८२ विद्यार्थीले जीपीए ३.६० देखि ४ (ए प्लस), ४८ हजार ९ सय ६० ले जीपीए ३.२० देखि ३.६० (ए), ६० हजार ७ सय ६ ले जीपीए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार १ सय १० ले जीपीए २.४० देखि २.८० (बी), ९७ हजार २ सय ९९ ले जीपीए २.०० देखि २.४० (सी प्लस), ९५ हजार २ सय ९ ले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन् ।

यसै गरी ४३ हजार ८ सय ४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), ४ हजार ४ सय २९ विद्यार्थीले ०.८० देखि १.२० (डी) ल्याएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । ८ हजार २ सय ७ विद्यार्थीको बिभिन्न कारणले नतिजा सार्वजनिक नभएको उहाँले जानकारी दिनुभयो ।
यता प्राविधिक धारतर्फ ६ सय ९८ विद्यार्थीले ‘ए प्लस’, २ हजार १ सय ७७ विद्यार्थीले ‘ए’, ३ हजार ३५ विद्यार्थीले ‘बी प्लस’, २ हजार ४ सय ५४ विद्यार्थीले ‘बी’, ९ सय ८ विद्यार्थीले ‘सी प्लस’, ९८ विद्यार्थीले ‘सी’ १ विद्यार्थीले ‘डी प्लस’ ल्याउन सफल भएका छन् ।

परीक्षा नियन्त्रकका अनुसार साधारण र प्राविधिकतर्फ ४ लाख ७५ हजार ३ परीक्षार्थीले परीक्षामा आवेदन दिए पनि परीक्षामा ४ लाख ५९ हजार २ सय ७५ परीक्षार्थीले परीक्षा दिएका थिए । नियमित र प्राविधिकतर्फ गरी कुल ८ हजार ४ सय ६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार ०७५ सालको एसईई परीक्षामा ५० विद्यार्थीको नतिजा रद्द भएको छ । ‘मर्यादाविपरीत कार्य गर्ने एक जना र गलत विवरण भरेर आवेदन गर्ने एक जना गरी दुई जनाको सबै विषय रद्द गरियो’, परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भन्नुभयो– ‘दुई जनाको सबै विषय र ४८ जनाको एक विषय गरी कुल ५० जनाको परीक्षा रद्ध भएको छ’ प्राबिधिक धारतर्फ २ सय ६२ परीक्षार्थीको परीक्षा सार्वजनिक गरिएको छैन ।

विगतका वर्षहरुमा एकैपटक आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने गरे पनि कार्यालयले यस वर्ष भने आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्न सकेन । पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अधिकारीले जतिसक्दो छिटो आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । दुई विषयसम्म ‘सी’ वा ‘सी’ भन्दा तलको ग्रेड आएका भने पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने कार्यालयले जनाएको छ ।

ग्रेडवृद्वि समूहको नतिजा भने पछि प्रकाशित गरिने कार्यालयले जनाएको छ । १ हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको परीक्षामा यस पटक प्रदेशअनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक फरक बनाइएको थियो । नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणालीअनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

पुनर्याेगको व्यबस्था
कार्यालयले आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनरयोग गर्न सक्ने व्यवस्था गरेको छ । विद्यार्थीले प्रतिविषय ५ सय रुपियाँ र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा प्रदेश शिक्षा निर्देशनालय वा जिल्लास्थित शिक्षा विभाग तथा समन्वय एकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यबस्था गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।

पुरक अर्थात् ग्रेडवृद्धि 
पुरक अर्थात् ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ बढीमा दुई विषयसम्म ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेको वा परीक्षामा दुई विषयसम्म अनुपस्थिति भएको वा २ विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । गत वर्ष नतिजा प्रकाशित भएकै दिन पूरक परीक्षाको तालिका सार्वजनिक गर्ने गरे पनि यस वर्ष भने केही समयपछि तालिका सार्वजनिक गर्ने पत्रकार स्म्मेलनमा जानकारी दिएको छ ।

नतिजा हेर्न
१ हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको परीक्षामा पहिलो पटक प्रदेशअनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक–फरक बनाइएको थियो । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरेको छ । विद्यालयको अन्तिम परीक्षा कक्षा १२ हुने ब्यवस्था गरे पनि शिक्षा मन्त्रालय र मातहतका निकायले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा त्यो लक्ष्य पूरा हुन सकेको छैन । २०७३ सालदेखि लागू भएको अक्षरांकन प्रणालीका कारण अहिले पास र फेल हुने व्यवस्था हटेको छ ।

करिश्मा मानन्धरकाे ‘बी प्लस’ 
अभिनेतृ तथा फिल्म निर्मात्री करिश्मा मानन्धर एसईई परीक्षामा ‘बी प्लस’ ल्याउन सफल भएकी छन् । उनले परीक्षामा जीपीए ३ प्राप्त गरेकी छन् । ‘डी’ प्लसमै चित्त बुझाउने सोचाइमा रहेकी उनले एसईई परीक्षाको यो परिणामपछि पाको उमेरमा स्कुल प्रवेश गरेर परीक्षा दिएकै मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा प्लस टु अध्ययन गर्ने भएकी छन् । ‘अबको पढाइमा अभैm मेहनत गर्नेछु’ – व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने योजना बनाएकी करिश्माले उत्साहित हुँदै नेपाल समाचारपत्रलाई सुनाइन् । करिश्माले ४६ वर्षको उमेरमा एसईई दिई सफलता हासिल गरेकी हुन् ।