गाउँमै हाते कागज उद्योग संचालन

0
Shares

सलिम अन्सारी,प्यूठान । प्यूठानमा नेपाली कागज उद्योग सञ्चालनमा आएको छ ।

स्थानीय जङ्गलमा उपलब्ध कच्चापदार्थ (लोक्ता)को प्रयोग गरी उद्योग शुरू गरिएको हो ।प्यूठान नगरपालिका १० सारीबाङका नेगनसिँह कुवरले करिब साढे १३ लाख रुपैयाँ लगानी गरेर गाउँमै नेपाली कागजको उत्पादन थाल्नुभएको हो। नेपाली कागजको माग बढ्दै गएपछि गौमुखी नेपाली कागज उद्योग स्थापना गरी कागजको उत्पादन थालेको उद्योग सञ्चालक कुवरले बताउनुभयो।

अड्डा अदालत,सरकारी कामकाज लगायतका सरकारी कार्यालयहरुमा हुने लिखतहरु तयार गर्नका लागि बढी प्रयोग गरिने नेपाली कागजको प्रयोग अनिवार्य छ । नेपाली हाते कागज उद्योग सञ्चालन गरी रोजगारीसँगै आम्दानीसमेत लिने सोचमा उत्पादनमा लागेको कुवर बताउनुहुन्छ ।

‘कागज उत्पादन गर्न थालेको एक महिना जती भयो’ उहाले भन्नुभयो,‘दैनिक ६ सय कागज उत्पादन हुन्छ ।’ उद्योग खोल्न डिभिजन बन कार्यालय प्यूठानले २ लाख ८५ हजार,घरेलु तथा साना उद्योग विकास समिति प्यूठान र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ६०/६० हजार अनुदान दिएको कुवरले सुनाउनुभयो ।

जिल्लामा उद्योग सञ्चालनमा आएपछि उत्तरी प्यूठानको अर्खा,रजवारा, स्यालीबाङका जङ्गलमा कुहिएर खेरा गएको लोक्ताको सदुपयोग गरेर स्थानीयलाई स्वरोजगार बनाएको सञ्चालक कुवरले बताउनुभयो । उद्योगमा पाच जनालाई रोजगारी दिईएको छ ।

उद्योगबाट उत्पादन भएको नेपाली कागज अमेरिका निकासी गर्ने तयारी भईरहेको उहाँको भनाइ छ । नेपाली कागज प्रतिपृष्ठ १० रुपैया मुल्य तोकिएको छ।

उता नेपाली कागज उत्पादन गर्ने आबश्यक पर्ने लोक्ता संरक्षणका लागी स्थानीय बन समितीसगँ गाउँपालिकाले समन्वय गरेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो।