श्रोत नखुलेको १८ लाख रकम सहित दुई भारतीय नागरिक पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । १८ लाख अवैध नेपाली नोटसहित वीरगन्जमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा आफनो खुट्टामा बाँधेर लुकाई छिपाई नेपाल ल्याउँदै गरेको श्रोत नखुलेको अवैध १८ लाख नेपाली रकम सहित २ भारतीयलाई पर्सा प्रहरीले वीरगन्जमा पक्राउ गरेको हो ।दुवैले नेपाली ना २५ प ३८५६ र ना ५८ प ८८३९ नम्बरका मोटरसाइकलमा भारतबाट १८ लाख नेपाली रुपैया लिएर नेपाल आउँदै गरेको अवस्थामा वीरगन्ज १६ शंकराचार्य गेट नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अभियुक्तहरूले श्रोत नखुलेको अवैध १८ लाख नेपाली र ५ हजार ५० रुपैयाँ भारतीय नोट खुट्टामा बाँधेर लुकाइछिपाई नेपाल प्रवेश गरिसकेको अवस्थामा वीरगन्ज भन्सार कार्यालय भन्दा उत्तैपटी शंकराचार्य गेट छेउमा पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना रामगढवा ग्राम पंचायत बेला वडा नम्बर १७ भैसडा बस्ने २९ वर्षीय बाला यादव र भारतको मोतिहारी थाना रक्सौल ग्राम पंचायत वडा नम्बर १३ बस्ने २० वर्षीय रंजन दास रहेका छन् । उनीहरुले खुट्टामा भित्रपट्टि पैसा बाँधेर बाहिरबाट पेन्टले छोपी मोटरसाइकलमा आउँदै थिए । सोही क्रममा चेकजाँच गर्दा श्रोत नखुलेको अवैध रकम बरामद भएको हो ।

अवैध रकम बरामद भएपछि दुवै अभियुक्तलाई उनीहरूले चलाएको मोटरसाइकलसहित पर्सा प्रहरी कार्यालयमा ल्याइ, अभियुक्तहरूलाई अवैध हुण्डी कारोवार गरेको अभियोगमा थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।