डोटीमा विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण

0
Shares

विमल विष्ट, डोटी । डोटेली समाज काठमाण्डौंले डोटीको कलेना र खिरसैनका गरीव तथा विपन्न वालवालिकालाई छात्रवृत्ति रकम वितरण गरेको छ । जगत खड्का छात्रबृत्ति समाज काठमाण्डौंले डोटेली समाज काठमाण्डौं मार्फत उपलब्ध गराएको उक्त छात्रवृत्ति रकम डोटेली समाज काठमाण्डौंका अध्यक्ष जगदिश केसीले कलेना र खिरसैनमा आयोजना गरिएको छुट्टा छुट्टै कार्यक्रममा आज वितरण गर्नु भएको हो । यहाँका सामुदायिक बिद्यालयमा अध्ययनरत ११ जना गरीव विपन्न वालवालिकालाई जनही रु ३ हजारका दरले छात्रबृति वितरण गरिएको डोटेली समाज काठमाण्डौंका अध्यक्ष जगदिश केसीले जानकारी दिनुभयो ।

दिपायल लिगढी नगरपालिका ९ कलेनाका वडाअध्यक्ष धर्मबहादुर साउँदको अध्यक्षता तथा वडा सचिब लोकेन्द्र जोशीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासी लगायतका बक्ताहरुले आफना भनाई राख्नु भएको थियो । यस गरि पुर्विचौकी गाउँपालिकाको साजेन्द्रेश्वर माध्यमिक बिद्यालय फुलौटमा आयोजना गरिएको कार्यक्रममा ६ जना दृष्टिविहिन बिद्यार्थीहरुलाई जनही रु ६ हजारका दरले छात्रबृत्ति रकम वितरण गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर खड्काको अध्यक्षता तथा शिक्षक देबबहादुर खड्काको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, वडा अध्यक्ष अँकबहादुर खड्का, नेपाली काँग्रेसका जिल्ला सदस्य सुशिल घर्ती, प्रधानाध्यापक खड्कबहादुर खड्का लगायतका बक्ताहरुले आफना भनाई भएको थियो ।

छात्रबृत्तिका लागि छनौट गरिएका बालबालिकाहरुलाई कक्षा १२ सम्म नियमित रुपमा छात्रबृत्ति रकम उपलब्ध गराईने डोटेली समाज काठमाण्डौंका अध्यक्ष जगदिश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिपन्न बालबालिकाको पढाई राम्रो होस र गरिब भएकै कारण पढाई नछुटोस भनेर हामीले छात्र बृति बितरण गरेकाछौँ,जिल्लाका अन्य बिपन्न बालबालिकालाई पनि छात्रबृति दिने योजनामा छौँ ।”

जगत खड्का छात्रबृत्ति समाज काठमाण्डौं सँग समन्वय गरेर डोटेली समाज काठमाण्डौंले उक्त छात्रबृत्ति बितरण कार्यक्रम डोटी जिल्लामा ल्याएको होे । जगत खड्का छात्रबृत्ति समाज हाल जर्मनीमा बस्ने किरण खड्का र दुर्गा खड्काले दिबंगत छोरा जगत खड्काको सम्झनामा स्थापना गर्नु भएको हो । डोटेली समाज काठमाण्डौंले बिभिन्न ब्यक्ति तथा संस्थाहरुसँग मिलेर डोटीमा समाज सेवाका कार्यहरु गर्दै आएको छ ।