सभ्यताको सीमा बदलिँदो समयसँगै विस्तारित हुँदै जान्छ । कसरी बोल्ने, बोल्दा कस्ता शब्द प्रयोग गर्ने, कसरी बस्ने र कसैलाई कसरी हेर्ने आदि सबै विषयमा सभ्यता निहित छ । मानव सचेत प्राणी भएका कारण उसबाट हरेक सभ्यताको अपेक्षा गरिन्छ । सडकको पेटीबाट हिँड्ने, जेब्राक्रसिङबाट बाटो काट्नेदेखि पाहुनाको सत्कार पिउने पानीबाट गर्ने आदि हरेक ठाउँको सभ्यता छ । खास गरी कूटनीतिक क्षेत्रमा त स–सानो व्यवहारलाई पनि सभ्यताका अतिरिक्त सांकेतिक अर्थसहित हेरिन्छ । कूटनीतिक व्यक्तिले समकक्षी वा सरकार प्रमुखका अगाडि उपरखुट्टी लगाएर बस्यो मात्र भने पनि दुई देशबीचको सम्बन्ध बिग्रिन सक्छ ।
मानवको जीवनमा सभ्यता शब्द जोडिएको आज मात्र होइन । ‘मानव सभ्यता’ शब्दको प्रयोग हजारौं वर्ष अघिदेखि भएको हुनुपर्छ । सामुन्नेमा रहेको व्यक्तिसँग गरिने व्यवहार नै सभ्यताको पहिलो अभ्यास मानिन्छ । सभ्यताको विषय एक्लै हुँदा खास महŒवपूर्ण हुन्न, कोही आफ्नो घरमा एक्लै हुँदा जसरी बसोस्, जसरी गुनगुनाओस् खासै अर्थ छैन । जब मानिस सानो बालकको अगाडि मात्र पनि खडा हुन्छ तब उसबाट सभ्यताको अपेक्षा गरिन्छ । तँ, तपाईं, तिमी, हजुर सभ्यताका लागि हो, सानो र ठूलो स्वरले पनि मानिसको सभ्यता नै देखाउँछ । कसैलाई बिजाउने बोली सभ्यताका दृष्टिले त आपत्तिजनक छ नै, कतिपय अवस्थामा कानुनी कसीमा पनि अस्वीकार्य हुन्छ । मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ होस् वा विभिन्न मितिका राष्ट्रसंघीय महासन्धिहरू हुन्, सबैको उद्देश्य सभ्य समाजको निर्माण गर्नु हो । सभ्यताको नियम जहाँ–जहाँ पालना हुन्छ, त्यहाँ हिंसा हुँदैन, शान्ति छाउँछ । विश्वले मानव अधिकार र लोकतन्त्रको जति पनि अभ्यास गर्दैआएको छ, त्यसको लक्ष्य सभ्यताको अभ्यास नै हो ।
एक समाचारअनुसार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका यौनिक तथा लैङ्गिक एक व्यक्तिलाई कार्यालयका एक कर्मचारीले यौनाङ्ग देखाउन दबाब दिए । सभ्यताको टिठलाग्दो अवस्था १ आफूलाई ‘पुरुष’ वा ‘महिला’ लिङ्गी नमान्नेहरूका लागि संविधानले ‘अन्य लिङ्गी’ लेखेर नागरिकता, राहदानी वा यस्तै अन्य परिचयपत्र बनाउने सुविधा दिएको चार वर्ष हुँदा पनि प्रशासकहरूलाई नागरिक हकबारे जानकारी रहेको पाइएन । प्रशासकले लुगा खोल्ने कुरा गरेर नागरिकमाथि हिंसा त गरे नै, साथमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सम्बन्धमा सामान्य ज्ञान पनि नभएको जानकारी दिए । प्रकृतिको सिर्जनामा विपरीत लिङ्गीको अतिरिक्त महिला समलिङ्गी, पुरुष समलिङ्गी, दुई लिंगी, तेस्रो लिङ्गी र अन्तरलिङ्गी पनि हुन्छन् । यस्ता व्यक्तिलाई सरकारले नागरिकता वितरण गर्दा ‘अन्य’ शीर्षक राखेर दिने प्रावधान छ । तर व्यवहारमा अझै पनि यस प्रावधानको प्रयोग गर्दै सम्मानितरूपमा नागरिकता पाउन नागरिकहरू वञ्चित देखिन्छन् । प्रसंग यौनिक तथा लैङ्गिक अल्पसंख्यकको उठे पनि समस्या उनीहरूमाथि मात्र छ भन्ने होइन, महिला, बालबालिका, पछाडि पारिएका समुदाय र आम जनसमुदाय नै राज्य पक्षबाट हुने असभ्य व्यवहारका कारण हिंसा वा विभेदको शिकार हुनेगरेका छन् । जहाँ राज्य पक्षबाटै यस प्रकारको व्यवहार हुन्छ भने आम नागरिकले के सिक्ने ?
प्रतिक्रिया