गुठी विधेयक फिर्ता


काठमाडौं, (नेस)
सरकारले गुठीसम्बन्धी विधेयक–२०७५ फिर्ता लिएको छ। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार राष्ट्रिय सभाको बैठकबाट विधेयक फिर्ता लिनुभएको हो।

राष्ट्रिय सभाको बैठकबाट विधेयक फिर्ता भएको हो। बैठकमा मन्त्रीले विधेयक फिर्ता लिने प्रस्ताव पेस गर्नुभएको थियो। सरकारले राष्ट्रिय सभाको विधेयक शाखामा उक्त विधेयक दर्ता गरेको थियो। विधेयकको विरोधमा आन्दोलन बढ्दै गएपछि मन्त्री अर्यालले गत असार ३ गते मन्त्रालयमै पत्रकार सम्मेलन गरी फिर्ता लिने बताउनुभएको थियो।

अर्को दिन उपत्यकामा विशाल आन्दोलन हुने भएपछि अघिल्लै दिन विधेयक फिर्ता लिने निर्णय सरकारको थियो। आन्दोलनकारीले विधेयक खारेज नै हुनुपर्ने माग राखेका छन्। यसबीचमा राष्ट्रिय सभाको बैठक नबसेकाले विधेयक फिर्ता भएको थिएन।

मिडिया काउन्सिल विधेयक फिर्ता गर्दा ‘बेइज्जत हुने’ बताउँदै आएको सरकारले गुठीप्रेमीको बलियो एकता देखेपछि त्यस प्रकारको तर्क गरेन।