एसईईको परीक्षाफल भोलिसम्म 


पहिलोपटक प्रदेशअनुसार परीक्षाफल
ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष सञ्चालित एसईई परीक्षाको परीक्षाफल भोलि बिहीबारसम्म प्रकाशित गर्ने भएको छ। बोर्डले परीक्षाको काम लगभग सकेको जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै भन्नुभयो– ‘केही विद्यार्थीले एक÷दुई वटा विषयमा कम अंक ल्याएको देखिएकाले उनीहरूको कपी रुजु गर्ने काम भइरहेको छ। सात वटा विषयमा राम्रो जीपीए ल्याएका विद्यार्थीले एक वा दुई वटा विषयमा नराम्रो अंक ल्याएको देखिएकाले अंक हेर्ने काम शुरू गरिएको छ।

उहाँले सबै विषयमध्ये एक÷दुई विषयमा नराम्रो अंक ल्याउने विद्यार्थीले परीक्षा प्रणालीप्रति असन्तुष्ट नजनाऊन् भनेर उत्तरपुस्तिका हेरिएको स्पष्ट पार्नुभयो।
बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको हो। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिँदै भन्नुभयो– ‘गत वर्ष भ्याइएन यो वर्षबाट प्रदेशअनुसार नै परीक्षाफल आउँछ।’

चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए। जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले एकदिन ढिलो गरी बिहीबारभित्र नतिजा आउने उहाँको भनाइ थियो। यद्यपि बुधबार साँझसम्म नतिजा निकाल्ने सम्भावना रहेको पनि बताइएको छ तर मंगलबार रातिसम्म परीक्षा बोर्डको बैठक बोलाइएको छैन।

‘आज पनि हुन सक्छ, तर भोलि बिहीबारभित्र पक्कै हुन्छ।’ –पौडेलले भन्नुभयो। पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो।