झापामा बम आतङ्क


भद्रपुर ।
झापाको कनकाई नदीमा प्रेसर कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । भद्रपुर नगरपालिकामा राखिएको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको १० घण्टा बित्न नपाउँदै कनकाई नगरपालिकाको कनकाई नदीमा शङ्कास्पद वस्तु फेला परेको हो ।

सार्वजनिक यात्रुवाहक बसभित्रबाट फालेको झोला पुलको किनारमा पुगेको थियो । अर्को गाडीको कम्पनले गर्दा पुलमुनी खसेको पैदल यात्रीले मङ्गलवार बिहान ६ बजेर २० मिनेटमा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी कार्यालय झापाका डिएसपी डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटना पछि नेपाली सेनाको प्राविधिक टोली आउदै गरेका छन भने यातायात सुचारु रहेको श्रेष्ठले जनाउँनुभयो ।

गएराती भद्रपुर नगरपालिकाको कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो । मेयर तथा उपप्रमुखको कार्य कक्ष चढ्ने सिँढीको तल कालो ब्यागभित्र रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम राखिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । चाराआलीस्थित कालीबहादुर गणबाट नेपाली सेनाका मेजर सन्तोष थापाको नेतृत्वमा बम डिस्फोजल टोलीले राती १२ बजे बम निश्कृय पारेका थिए । सेनाका मेजर थापाले रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बमभित्र ६ वटा डेटोनेटर रहेको पुष्टि गरे ।

भद्रपुर नगरपालिकामा बम राखिएको सूचना गृह मन्त्रालयका सचिवले फोन मार्फत झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई जानकारी गराएका थिए । नगरपालिकाको कार्यालय वरिपरि सिसी क्यामेरा जडान नगरेकोले प्रहरीलाई अनुसन्धानमा समस्या हुने भएको छ । नगरपालिकामा पहिलो पटक बम फेला परेको हो ।

नगरपालिकामा फेला परेको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नेत्र चन्द विक्रम नेतृत्वको विप्लव समूहले राखेको झापाका प्रहरी, प्रशासन प्रमुखको दाबी छ । मङ्गलबार आब्हन गरेको नेपाल बन्दलाई सफल बनाउन सदरमुकामै बम राखेको हुन सक्ने प्रहरी, प्रशासन प्रमुखले आशङ्का गरेका छन् ।