मानवअधिकार उलंघनका घटनामा कमि आएन


धनवीर दाहाल, रुकुम
शान्ति प्रक्रिया सुरु भएको १३ बर्ष सम्म पनि द्धन्द्धको उद्गम स्थल रुकुममा अझै मानवअधिकार उलंघनमा कमि नआएको एक अध्ययनले देखाएको छ । पछिल्लो ६ महिनामा २५ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटनाहरु भएका छन् । गत २०१९ जनवरीदेखि हालसम्म भएका घटनाहरुको संकलन गरी इन्सेकले सदरमुकाम मुसिकोट खलंगामा सोमबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि यी घटनाहरु संकलन गरी सल्लाह सुझाव लिनका लागि उक्त कार्यक्रम गरिएको इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले बताउनुभयो ।

संकलन गरी सार्वजनिक गरिएका घटनाहरुमा धम्की कुटपीट गैरराज्य पक्षबाट १, राज्य पक्षबाट १, गिरफ्तारी ६, बालअधिकार अन्तर्गत बलात्कार तथा यौन दुव्र्यवहार ५, महिला अधिकार अन्तर्गत घरेलु हिंसा र कुटपीट ४, बलात्कार तथा यौन दुव्र्यवहार ३, मानव बेचविखन १ र बहुविवाहका ४ घटना रहेको उहाँले जानकारी दिनुभयो । गतवर्षको तुलनामा यसवर्ष घटनाहरु कम भएको इन्सेकले जनाएको छ । जिल्लामा मदिरा नियन्त्रणको अभियान जारी रहेकोले घरेलु हिंसा र अन्य आपराधिक घटनाहरु कम भएको बताइएको छ ।

समीक्षा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका प्रतिनिधि नायव सुब्बा बलबहादुर केसी, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक नविन थापामगर, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता विनोद पौडेल, नेकपाका जिल्ला सचिव विमलकुमार पुन, नेपाली काँग्रेसका सचिव गोरखबहादुर केसी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सत्यनारायण श्रेष्ठ, गैसस महासंघ रुकुम पश्चिमका अध्यक्ष नारायणकुमार शाह, जिल्ला बार इकाई रुकुम पश्चिमका अध्यक्ष एक्कबहादुर पाण्डे, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तन लगायतका सहभागिहरुले सार्वजनिक गरिएका घटनाहरुमाथि टिप्पणी तथा सल्लाह सुझाव दिनुभएको थियो ।