आठविसकोट बन्यो जिल्लाको पहिलो मदिरा मुक्त स्थानीय तह


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका जिल्लाको पहिलो मदिरामुक्त स्थानिय तह भएको छ । रुकुम पश्चिमलाई मदिरा मुक्त जिल्ला बनाउने अभियान अन्र्तगत सबै भन्दा पहिले आठबिसकोट नगरपालिकालाई मदिरामुक्त नगरपालिका घोषणा गरिएको हो ।
आठबिसकोटमा मदिरा व्यवसाय सञ्चालन गर्दै आएको व्यापारीहरुलाई अन्य व्यवसाय गर्नको लागि प्रोत्साहन गर्दै जिल्लाको पहिलो मदिरा मुक्त स्थानीय सरकार घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

६ वटा स्थानीय तह रहेको जिल्लामा आठविसकोटले यहाँका २८ मदिरा व्यावसायीलाई अन्य व्यवसाय सञ्चालन गर्नको लागि अनुदानको समेत व्यवस्था गरेर मदिरा मुक्त स्थानीय सरकार घोषणा गरेको नगरप्रमुख गोर्खबहादुर के.सीेले बताउनुभयो । मदिराका कारण गाउँ गाउँमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्नुका साथै हत्या हिंसा, चोरीडकैती, लुटपाट लगायतका घटना बढ्दै गएपछि आफुहरुले मदिरा मुक्त नगरपालिका घोषणा गरेको नगर प्रमुख केसीले जानकारी दिनुभयो । फागुनको दोस्रो हप्तादेखि यहाँका वडाहरुमा मदिरा मुक्त गर्न अभियान सञ्चालन गरिएको थियो ।

नगरपालिकामा रहेका १४ वटै वडाहरु मदिरा मुक्त भएपछि सोमबार नगरपालिकालाई औपचारीक कार्यक्रमका बीच मदिरामुक्त नगरपालिका घोषणा गरिएको हो । गत माघ ५ गते जिल्ला समन्वय समितिको बैठकले जिल्लालाई मदिरा मुक्त बनाउने निर्णय गरेको थियो । सोमबार नगरपालिकामा भएको औपचारिक कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मदिरा मुक्त घोषणा गर्नुभएको हो ।

आठबिसकाट नगरपालिकालाई मदिरा मुक्त नगर घोषणा समारोहमा बोल्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले समाजमा बिकृति, हिसां, पैसा नास गर्ने तत्व नै मदिरा भएकोले यो सिंगो कर्णालीलाई मदिरामुक्त प्रदेश बनाउनुपर्नेमा जोड दिनुभयो । मदिरा हरेक हिसाबले नकारात्मक चिज भएकोले मदिरा मुक्त अभियानलाई पुरा गरेरै छाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कर्णाली प्रदेश भुमि ब्यवस्था तथा सहकारी मन्त्रि बिमला केसीकोले जिल्लालाई नमुना जिल्ला बनाउका लागी मदिराको अन्त्य हुनै पर्छ भन्नुभयो ।