बन्दकाे प्रभावः बैतडीमा प्रेसर कुकर बम भेटियो


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको महाकाली राजमार्गमा प्रेसरकुकर बम भेटिएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा सडकबीचमा राखेको उक्त बम निष्क्रिय पारिएको छ ।

उक्त बमलाई बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । सडकमा बम राखेको खबर पाएपछि आज बिहानै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली बम डिस्पोजलका लागि धरमघर पुगेको थियो ।

गएराती राती दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीसंग पुगेको थियो । राती बसमा सवार यात्रुहरुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकमा बम भएका कारण तराईवाट बैतडीको गन्ना तथा दार्चुलाका लागी छुटेका सवारी साधन रोकिएका थिए । रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइने काम भईरहेको प्रहरी निरीक्षक पातलीले जानकारी दिनुभयो ।

यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण बैतडीमा छोटो तथा लामोदुरीका सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् । बन्दका कारण सडक सुनसान बनेको छ ।