पत्रकारलाई ५ सय जरिवाना


अछाम, (नेस)
गाउँपालिका अध्यक्षको बिरूद्धमा गलत समाचार प्रसारण गर्ने र समाचार लेख्ने पत्रकारलाई जिल्ला अदालतले पाँच सय जरिवाना तोकेको छ।
जिल्ला अदालत अछामले ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाको पक्षमा मुद्दा फैसला गरेको छ। गत वर्षको भाद्र महिनामा रेडियो रामारोशनले गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै समाचार प्रसारण र गाउँपालिका अध्यक्ष धनबहादुर बुढालाई गालि बेइजति गरे भन्दै गाउँपालिका अध्यक्ष बुढाले रेडियो रामारोशनकाविरूद्व मुद्दा दायर गर्नुभएको थियोे।

जिल्ला अदालत अछामले आइतबार मुद्दाको फैसला गर्दै रेडियो रामारोशनलाई ५ सय जरिवाना तिर्नुपर्ने फैसला गरेको छ भने गलत समाचार लेख्ने र लेख्न लगाउने रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कुवंर, रेडियो रामारोशनका स्टेसन म्यानेजर कृष्णबहादुर बुढा र रेडियो रामारोशनका समाचारवाचक शंकर थापालाई ५–५ सय जरिवानासहितको फैसला सुनाएको हो।

गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै गलत समाचार प्रसारण गरेपछि गाउँपालिका अध्यक्ष बुढा न्यायको माग गर्दै अदालत धाउनुभएको थियोे। यसै विषयलाई लिएर अख्तियार दुरूपयोग अनुसन्धानका कर्मचारीहरूसमेत ढकारी गाउँपालिकामा पुगेर निरीक्षण गरेका थिए। अख्तियारको टोलीले समेत गाउँपालिकामा कुनै पनि खालको भ्रष्टाचार नभएको निष्कर्ष निकालेको थियो।