दाङको लमहीमा प्रादेशिक ट्रमा सेन्टर बनाउने प्रदेश सरकारको निर्णय


योजना आयोगको उपाध्यक्षमा डा.गौतम
नेपाल समाचारपत्र, बुटवल
प्रदेश पाँचको योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. ईश्वर गौतम नियुक्त हुनुभएको छ।
प्रदेश पाँचको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा गौतमलाई नियुक्ति गरेको हो। प्रदेश योजना आयोगका उपाध्यक्ष डा। प्रकाश श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि गत जेठ १४ गते आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। उहाँले दिनुभएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी स्वीकृत गर्दै प्रदेश योजना आयोगको उपाध्यक्षमा आजको मिति ९ असारदेखि लागू हुने गरी बुटवल निवासी गौतमलाई नियुक्ति गरिएको प्रदेश सरकारका प्रवक्ता, भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले जानकारी गराउनुभयो।

त्यस्तै मन्त्रिपरिषद् बैठकले दाङको लमही नगरपालिकामा प्रादेशिक ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरेको छ। लमही नगरपालिकाले उपलब्ध गराएको राजमार्गछेवैको जग्गामा सरकारले प्रादेशिक ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरेको हो। प्रदेश पाँचमा सबैभन्दा बढी दुर्घटना हुने भएकाले लमहीलाई ट्रमा सेन्टर निर्माणको निर्णय गरिएको प्रवक्ता चौधरीले बताउनुभयो।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नका लागि सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्नका लागि निर्णय भएको समेत जानकारी गराउनुभयो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक सुशासन व्यवस्थापन केन्द्र रहने र प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका सार्वजनिक संस्थाहरूबाट सम्पादन हुनुपर्ने कामहरू नियमित र प्रभावकारीरूपमा सम्पादन भए नभएको विषयमा सूचना संकलन गर्ने, नियमित र प्रभावकार नभएको पाइएमा त्यस्तालाई कारबाही गर्ने तथा राम्रो काम गर्नेलाई पुरस्कृत गरिने गरी उक्त विधेयक निर्माण गरिएको उहाँले जानकारी गराउनुभयो।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले दाङको घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तको यान नगरपालिका तथा बर्दियाको ठाकुरबाबा नगरपालिका र चीनको याननगरपालिका र चीनकै गुईझाउ प्रान्तको लिउ मानसुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। भगिनी सम्बन्ध स्थापित भएपछि दुई नगरपालिकाबीच आपसमा विकास तथा सांस्कृतिक अनुभव आदानप्रदान हुने प्रवक्ता चौधरीले जानकारी गराउनुभयो।

त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिकामा जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकका लागि ग्राम स्थापना गर्ने निर्णय भएको छ। त्यसका लागि नगरपालिका आफैंले जग्गाको व्यवस्थापन गर्नुपर्ने र बजेटको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने प्रवक्ता चौधरीले जानकारी गराउनुभयो।