सलिम अन्सारी, प्युठान
‘जब आकाशमा कालो बादल मदारिन थाल्छ, तब मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ’, प्युठान नगरपालिका–१० बड्डाँडाकाकी बिस्नी नेपालीले खोलाले बस्ती नै बगाउँछ कि भन्ने त्रास उत्पन्न हुने बताउनुभयो। वर्षैपिच्छे खोलाले खेत कटान गर्दा बाढी बस्तीमा तेर्सिन थालेको उहाँको भनाइ थियो। ‘खोला बढेर सुसाउँदा निद्रा नै लाग्दैन, दिनमा त घरका झिटीझाम्टा लिएर भागाभाग हुन्छ, रातमा के गर्ने’ –उहाँको प्रतिप्रश्न थियो।
नदी नियन्त्रणका लागि सरोकारवाला निकायले सही कदम नचाल्दा सर्वसाधारणले त्रासमा दैनिकी बिताउनुपरेको उहाँले गुनासो गर्नुभयो। नदी नियन्त्रण प्रभावकारी नहुँदा झिमरुक खोला किनारका बस्ती बाढीको उच्च जोखिममा परेका छन्। वर्षेनी खोलाले खेतीयोग्य जमिन कटान गर्दा झिमरुकको बाढी बस्तीमा पस्न लागेको हो। दम्तीदेखि बाग्दुला क्षेत्रमा पर्ने घर बाढीको जोखिममा रहेको स्थानीयले बताए।
प्रत्येक वर्ष प्युठानका गौमुखी, झिमरुक, नौबहिनी गाउँपालिका र प्युठान नगरपालिकाका झन्डै ५ हजार घरधुरीका नागरिक बाढी बाढीपहिरोको जोखिममा पर्छन्। खेतको माटो मलिलो भएकाले खोलाले सजिलैसँग कटान गरिरहेकाले खतरा बढ्दै गएको छ। गत वर्षको श्रावणदेखि हालसम्म बाढी र डुबानमा परी झिमरुकमा ६ पुरुष र ३ जना महिला गरी ९ जनाको मृत्यु भएको तथ्यांक छ।
प्रशासनले गएको आर्थिक वर्षमा बाढी प्रभावितलाई १७ लाख २१ हजार नगद, खाद्यान्न, लत्ताकपडा, त्रिपाल र भाँडावर्तन उपलब्ध गराएको छ। प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले वर्षायाममा हुन सक्ने डुबान एवं कटानलाई लक्षित गरेर बाँध निर्माण गर्नुका साथै उद्धारका लागि तयारी गरिएको जानकारी दिनुभयो। ‘झिमरुक पस्न सक्ने ठाउँहरूमा बाँध भर्न लगाइसकिएको छ’, उहाँले भन्नुभयो– ‘अन्य स्थानमा समेत बाढीबाट हुन सक्ने क्षति कम गर्न धेरै कामहरू भएका छन्।’ अर्खा, रजबारामा वर्षा मापन यन्त्र जडान, बिजुवारमा पानीको बहाब नाप्ने यन्त्र राखिनेछ।
त्यस्तै उद्धारका लागि नेपाल प्रहरीसहितका तीनवटै सुरक्षा निकायलाई हाइअलर्ट अवस्थामा राखिएको गैरेले बताउनुभयो। प्युठान नगरपालिकाकी उपमेयर शान्ता आचार्यले झिमरुक माडी परियोजनाअन्तर्गत संघ, जल उत्पन्न र प्रदेश सरकारलाई नदी नियन्त्रण कार्य अगाडि बढाउन अनुरोध गरिएको बताउनुभयो। उहाँले नदी नियन्त्रणका लागि गत वर्ष नगरपालिकाले १ करोड विनियोजन गरेको जानकारीसमेत गराउनुभयो।
प्रतिक्रिया