पर्यटनमन्त्रीलाई स्वागतको तयारी, मन्त्री आउने टुंगो छैन


नेपाल समाचारपत्र, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नभएको ४ महिना पुग्न आँटेको छ, तर अझै पनि मन्त्री आउने सुरसार छैन।
मन्त्रालयले भने आन्तरिक तयारी गरिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले मन्त्री आउने कहिले भन्ने औपचारिक जानकारी नआएको बताउनुभयो। ‘बजारी हल्लामात्र आएको छ, हामीलाई प्रष्ट जानकारी छैन’, उपाध्यायले भन्नुभयो– ‘जहिले आए पनि स्वागत गर्न हामी तयार छौं।’ उपाध्यायले आइतबारबाट भने तयारी अलिकति बढी भएको बताउनुभयो। उहाँले मन्त्रालय थप सफा र व्यवस्थित गरिएको जनाउनुभयो।

केही समयअघिसम्म सुनसानजस्तै रहेको मन्त्रालयको मन्त्री पस्ने मूल गेटमा गमलामा फूलहरूले सजाइएको छ। गत फागुन १५ गते ताप्लेजुङमा भएको विमान दुर्घटनामा परी मन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधन भएको थियो। मन्त्रीको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रालय सम्हालिरहनुभएको छ, तर मन्त्रालयमा रहेको नेम प्लेटमा भने उहाँको नाम लेखिएको छैन। राज्यमन्त्री र सचिव मोहनकृष्ण सापकोटाको नाममात्र उल्लेख छ।