गुठी विधेयक पुनः पेस गर्न आग्रह


नेपाल समाचारपत्र, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठाधिश र सामन्तहरूको चलखेलका कारण सरकारले ल्याएको गुठी विधेयक भएको बताउनुभएको छ। सोमबार भक्तपुर नगरपालिकाको पाँचौ नगरसभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेले गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका मठाधिशले जनतालाई गलत सूचना प्रवाह गरेर सरकारविरुद्ध सडकमा उतारेको आरोप लगाउनुभयो।

उहाँले सरकारले ल्याएको गुठी विधेयक फिर्ता गर्न नहुने बताउँदै विधेयक वर्षौंदेखि कमाई गर्दै आएका भूमिहीन मोहीको पक्षमा रहेको उल्लेख गर्नुभयो। गुठी विधेयक तत्काललाई फिर्ता भए पनि पुनः पेश गर्न र पारित गर्न सरकारलाई आग्रह गर्नुभयो। नेता बिजुक्छेले कानुनतः सामन्ती व्यवस्था अन्त्य भए पनि गुठीको नाममा संस्कार र व्यवहारमा अझै पनि सामन्ती प्रथा जीवित रहेको बताउनुभयो। संसदीय दलको बैठकमा विरोध वा समर्थन गर्नुपर्नेमा बाहिर बाहिर गुठी विधेयकको विरोध गरेकामा नेकपाले पार्टीका नेतालाई कारबाही गर्नुपर्ने बताउनुभयो। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेमकिपा अधिनायकवादी पार्टी भएको टिप्पणीप्रति उहाँले कटाक्ष गर्नुभयो।

केही दिनअघि संसद्मा नेमकिपा सांसद प्रेम सुवालले बेलायतमा जस्तै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अवस्था भन्नुपर्नेमा सीधै राजीनामा माग्नाले नेमकिपाका सांसद सुवालले पनि भाषा सच्याउनुपर्ने बताउनुभयो। सुवालले भाषा नसच्याएका कारण नेमकिपालाई नै नेकपाका नेता माधवकुमार नेपालले भक्तपुरमा आएर अधिकानायकवाद भएको आरोप लगाएको अध्यक्ष विजुक्छेले बताउनुभयो।
सांसद प्रेम सुवालले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने धम्की दिएको हल्ला सुन्नमा आएको बताउनुभयो। परिषद्मा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव२०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।