‘पाँच वर्षसम्म सरकार फेरबदल हुँदैन’


नेपाल समाचारपत्र, भक्तपुर
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताउनुभएको छ। सोमबार सूर्यविनायक नगरपालिकाको पाचौं नगरसभाको शुभारम्भ गर्दै मन्त्री पोखरेलले सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जना गर्न खोज्नेले फैलाएको बताउनुभयो।
सरकार विधिसम्मत ढंगले बनेको बताउँदै नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने मन्त्री पोखरेलको भनाइ थियो। रक्षामन्त्री पोखरेलले विकाश गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभएर सबै एक जुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो। दलीय द्वन्द्वको धङधङीबाट लिप्त भएकाहरूले मात्र विकासको विरोध गर्ने उहाँको भनाइ थियो। सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो।

उद्योगधन्दा बेच्नेहरूले नै सडक र सदनमा ठूला कुरा गर्न थालेको आरोपसमेत रक्षामन्त्री पोखरेलले लगाउनुभयो। कार्यक्रममा संघीय सांसद महेश बस्नेतले आगामी केही वर्षमा भक्तपुर विकासले भरिपूर्ण जिल्लाका रूपमा उदाहरणीय हुने बताउनुभयो। बस्नेतले सडक, विद्यालय, पुलनिर्माण मात्र नभएर हामीले पयर्टन पूर्वाधार विकासमा समेत काम गरिरहेका छौं भन्नुभयो। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अन्जनादेखि मधिकर्मी, नेकपाका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेललगायतले नगरका नीति तथा कार्यक्रमले स्थानीय जनताको आश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

नगरपालिकाको नीति तथा कार्यक्रम पेस गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले कृषि, पर्यटन, धर्म संस्कृति, शिक्षा, युवा तथा खेलकुदलगायतका कुरामा विशेष महŒव दिएको बताउनुभयो। यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले शिक्षाको गुणस्तरमा जोड दिएको बताउनुभएको छ। चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अबको शिक्षा युगिन, वैज्ञानिक, सान्दर्भिक, सुलभ र देशभक्तिपुर्ण हुनुपर्ने बताउनुभयो।

उहाँले सार्वजनिक विद्यालयको रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताउनुभयो। मन्त्री पोखरेलले शिक्षण पेसा जागिर खाने मात्र ठाउँ नभएको बताउँदै उहाँले यो देश बनाउने र युग सुहाउँदो नयाँ पुस्ता तयार गर्ने मार्ग भएको उल्लेख गर्नुभयो। सार्वजनिक विद्यालयलाई अभिभावकको खोजाइ र विद्यार्थीको रोजाइमा पार्न सरोकारवाला सबै लागे सम्भव रहेको बताउनुभयो। स्थानीय तहले आफ्नो खल्तीका मानिसलाई शिक्षक नियुक्ति गर्ने परम्परा बन्द गर्नुपर्ने बताउँदै शिक्षक सेवा आयोगबाट लाइसेन्स भएका शिक्षकलाई मात्र नियुक्ति गर्न उहाँले आग्रह गर्नुभयो।