दुई करोड बढी कमाउने नासुविरुद्ध भ्रष्टाचार मुद्दा


नेपाल समाचारपत्र, काठमाडौं
ञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

सार्वजनिक सेवामा प्रवेश गरेदेखि अनुसन्धान अवधिभरमा उनको आयआर्जन र खर्च तथा लगानीको विश्लेषण गर्दा दुई करोड बढी सम्पत्तिको स्रोत नखुलेको प्रमाणसहित मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो।

भट्टराईले अर्थ मन्त्रालयअन्तर्गत विभिन्न कार्यालयमा कार्यरत रहँदा अनियमित तरिकाले सम्पत्ति आर्जन गरेको भन्ने व्यहोराको उजुरी परेको सम्बन्धमा अनुसन्धान गर्दा त स्रोत नखुलेको सम्पत्ति भएको पत्ता लागेको आयोगले जनाएको छ।

सेवामा आए यता उनले पारिश्रमिक बचत, पुरस्कार, प्रोत्साहन भत्ता तथा कमिसन आय, कृषि आय, घर बहाल, जग्गा, शेयर बिक्री, भत्ता, कर्जासमेत गरी एक करोड १४ लाख ९१ हजार १ सय ५१ रुपियाँ आयआर्जन गरेको देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ।
उनको खर्च तथा लगानी ९व्यय० तर्फ हेर्दा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, कर्जा भुक्तानी, कर भुक्तानी, अध्ययन खर्च तथा विभिन्न बैंकमा रहेको मौज्दातलगायतमा समेत गरी ३ करोड १४ लाख ९९ हजार ६ सय ९१ रूपियाँ ८२ पैसा खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ।

त्यस्तै उक्त खर्च तथा लगानीमा निजको कुल आय आर्जन एक करोड १४ लाख ९१ हजार एक सय ५१ रुपियाँ घटाउँदा आउने २ करोड ८ हजार ५ सय ४० रूपियाँ ८२ पैसाबराबरको खर्च तथा लगानीको श्रोत नखुलेको पाइएको छ।