अन्यौलमा सडक बिस्तार

६ वर्षदेखि घर हटाउन लगातार सूचना

0
Shares

हेटौंडा । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ मिटर क्षेत्रमा रहेका सम्पूर्ण संरचना हटाउन फेरि सूचना जारी भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक विभाग हेटौंडाले १५ दिने सूचना जारी गर्दै सडक ऐनअनुसार दायाँबायाँका २५ मिटर खाली गर्न सूचना जारी गरेको हो ।

सडक डिभिजन कार्यालयले २०६९ भदौ १५ बाट पटकपटक सूचना जारी गर्दासमेत अटेर गरिएको भन्दै १५ दिनसम्ममा २५ मिटर क्षेत्रका घरटहरा भत्काउन आग्रह गरेको छ । यदि आग्रहलाई कार्यान्वयन नगरे सडक ऐनअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।
डिभिजन सडक कार्यालयले सूचना जारी भएको मिति शनिबारबाट १५ दिनभित्र सडक सीमाभित्र पर्ने संरचना घरधनी आफैंले नहटाए बल प्रयोग गरेर हटाइने जनाएको छ ।

सूचनामा महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको बीरगञ्ज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्म राजमार्ग र राजपथको दाँयाबायाँ २५/२५ मिटर सडक सीमा अतिक्रमण क्षेत्र १५ दिनभित्र हटाउन आदेश गरिएको छ ।

सूचना प्रकाशन भएपछि २५ मिटर क्षेत्रभित्र पर्ने घरधनीहरु सडक विस्तार रोक्न आन्तरिकरुपमा लागेका छन् । यसअघि २५ मिटर क्षेत्रभित्र पर्ने घरधनीहरुले मुआब्जा माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतले सडक विस्तारको काम रोक्न आदेश गरेको थियो ।
तत्कालीन क्षेत्रीय प्रशासनले प्रहरी लगाएर सडक विस्तार सुरु गरेको थियो तर दबाबपछि हेटौंडामा सडक विस्तारको विषय अन्यौलमा परेको थियो ।

सडक डिभिजन कार्यालय हेटौंडाले राजमार्गको दायाँबायाँ २५ मिटर सडकका संरचना खाली गर्न ६ पटक सूचना जारी गरिसकेको छ । हरेक पटक १५ दिने सूचना जारी गरेर हेटौंडाका वासिन्दालाई आतंकित पार्ने काम भएको यहाँका घरधनी तथा व्यबसायी बताउँछन् ।
पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडकको दायाँबायाँ २५ मिटरभित्रका घरटहरा भत्काउन सूचना जारी भएको यो छैटौं पटक हो । तर, सडक सीमामा पर्ने २५ मिटर सडक बिस्तारका लागि सूचना जारी गर्ने सडक डिभिजन कार्यालयले यस पटक सडकभित्रका संरचना भत्काउँछ भन्ने स्पष्ट आधार भने छैन ।

सडक कार्यालयलाई पटकपटक सूचना जारी गरेर घरधनी र व्यबसायीलाई तर्साउने काम बन्द गर्न आग्रह गर्दै मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले भन्नुभयो–‘सडकसीमामा बनेका संरचना भत्काउन घरधनीलाई मुआब्जा दिइनुपर्छ । बिनामुआब्जा भत्काउन पाइँदैन । प्रदेश सरकारले सडकको दायाँबायाँ १६ मिटर सडक भत्काउने निर्णय गरिसकेको अबस्थामा २५ मिटरको कुरा आउनु राम्रो होइन ।
सडक बिस्तार गर्ने योजनामा सघाउन तयार रहेको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभएको छ । हेटौंडा मुख्य बजार क्षेत्रमा सधैं साँघुरो सडक राख्न नहुने बताउँदै मेयर महतले भन्नुभयो–हेटौंडा बजार क्षेत्र पछिल्लो समय निकै साँघुरो बन्दै गएको छ ।

सडकलाई फराकिलो बनाउन हामीले यसअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र लेखेका थियौं । महिनौंअगाडि पठाइएको पत्रको बल्ल सूचना निकालेर कार्यान्वयन चरणमा जान लागेकोले यो महत्वपूर्ण काममा हामी साथमा छौं ।
प्र

देश नम्बर–३ को राजधानीसमेत हेटौंडा भएपछि मुख्य सडक निकै साँघुरो भएकोले सडक बिस्तार गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–सडक बिस्तारपछि मात्र हेटौंडामा फराकिलो, चिल्लो सडक र दायाँबायाँ फूलैफूलको हरियाली अनि सुन्दर बनाउने परिकल्पना पूरा हुनेछ । तर, सडकको सूचनाका कारण हेटौंडामा फेरि मुठभेडको अबस्था सिर्जना हुने प्रायः निश्चित छ ।