लागुऔषध सम्बन्धी जनचेतना दिदैं प्रहरी

0
Shares

विनोद सिंह विष्ट, बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला विभिन्न विद्यालयका विद्यार्थीलाई साईवर क्राईम सम्बन्धी प्रशिक्षण दिन थालेको छ । शाहिलेकस्थित विरेन्द्र माविका विद्यार्थीलाई लागु औषध, साईवर क्राईम सम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक सामाग्रीहरु वितरण गरिएको छ । कार्यक्रममा लागुऔषधले पार्ने असर, साईवर क्राइमसम्बन्धी जानकारी दिइएको छ ।

नेपाल स्काउटसंगको समन्वय, श्री विरेन्द्र माध्यमिक विद्यालय शाहीलेकको विशेष सहयोगमा बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेयको प्रमुख आतिथ्यमा उक्त प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षणमा सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाह, श्री विरेन्द्र माध्यमिक विद्यालय शाहीलेक बैतडीका शिक्षक नवराज पाण्डेय, शिक्षिका प्रेमा बुढाऐर लगायतको उपस्थितिमा नेपाल स्काउटमा आवद्ध विरेन्द्र माध्यमिक विद्यालय शाहीलेक लगायत विभिन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

१ दिन प्रशिक्षण कार्यक्रममा प्रहरी निरीक्षक दिपक पातली र प्रहरी निरीक्षक रविन्द्र चन्दले लागु औषध, साईवर क्राईम सम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक सामाग्रीहरु वितरण गर्नुभएको थियो ।
गाँजा नष्ट अभियान

यसैबिच जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरी गाँजा नष्ट अभियान शुरु गरेको छ । गाँजा खेतीबाट चरेस उत्पादन हुने र यसले समाजमा विकृति फैलाउने भएकाले गाँजाखेती नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । कतिपय ठाउँमा गाँजा खेती गरिएको भेटिएको र कतिपय ठाउँमा आँफै गाँजा उम्रेकाले नष्ट गर्ने अभियान थालिएको हो ।

जिल्लाका सबै प्रहरी युनिटबाट प्रहरी खटाएर गाँजा नष्ट गर्ने अभियान शुरु गरिएको जनाएको छ । गाँजा खेती नष्ट गर्ने क्रममा प्रहरीले स्थानीयहरुसंग अन्तरक्रिया समेत गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गाँजाखेतीले समाजमा पार्ने प्रभावका बिषयमा जानकारी दिने काम भईरहेको प्रहरी नायव उपरिक्षक पाण्डेयको भनाई छ । जिल्ला प्रहरी कार्यालय मातहतका युनिटबाट प्रहरी टोली खटाएर गाँजा खेती नष्ट गर्ने अभियान जारी रहेको हो ।