बाढीले समन्वय समितिको भवन भासियो


नेपाल समाचारपत्र, पर्वत
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सदरमुकाम कुस्मामा रहेको जिल्ला समन्वय समिति पर्वतको भवन भासिएको छ भने दक्षिणी पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा बाढीले ९ घरमा क्षति पु¥याएको छ।

दुई दिनदेखि परेको वर्षाको पानीको उचित निकास नहुँदा समन्वय समितिको भवनका दुई वटा कोठा भासिएका हुन्। जिल्ला प्रशासन कार्यालय मातहत जिल्ला आपतकलीन कार्य सञ्चालन कक्ष रहेका दुई वटा कोठा भासिएर भत्केका छन्। बिहान ५ बजेको समयमा भवनका कोठा भासिएका हुन्। आपतकालीन कक्षमा कार्यरत सशस्त्र प्रहरी हबल्दार भवन भाँसिदा सुतिरहनुभएको थियो।

भवनबाट धूलो माटो खस्न थालेपछि भवन भासिएको देखेर उहाँले भागेर ज्यान बचाएको जानकारी दिनुभयो। भवनबाट कम्प्युटरलगायतका सामग्री भने सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ। गत वर्ष पनि राष्ट्रिय अनुसन्धानको कार्यालय रहेका दुई कोठा भासिएका थिए।

यसैगरी अविरल वर्षापछि गेउदीखोलामा आएको बाढीले पैंयु गाउँपालिका–४ मा दुई घरमा ठूलो क्षति पुगेको छ भने ९ घर विस्थापित बनेका छन्। हातेमालोचोक धरमपानी पैंयुकोट सडकबाट बगेर आएको लेदोले घरमा क्षति पुयाएको छ भने ५० रोपनी खेतसमेत बगाएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। बाढीका कारण स्थानीय मोतीलाल पौडेल, गोपबहादुर सार्की, लीलादेवी पौडेल, हिमलाल तिवारी, सोमनाथ तिवारी, विनोद हमाल, गोविन्द पौडेल र मोतीलाल रिजालको परिवार विस्थापित बनेका छन्।

बाटो खन्ने क्रममा निस्केको माटो र गेगर बाढीले बगाएपछि खोलाले उग्ररुप लिएको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरी टोली र स्थानीयले उद्दार र क्षतिको विवरण संकलन गर्ने काम गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। पछिल्लो वर्ष सडक स्तरोन्नतिका लागि पर्वतका सबैजसो वडामा काम भइरहेको छ। सडक खन्दा निस्केको माटो र ढुंगा व्यवस्थापन नगरिएका कारण त्यसले बाढी र पहिरोको रुप लिँदै आएको छ। जथाभावी सडक खनिएका सडकबाट निस्केको माटो ढुंगाका कारण मनसुन सक्रिय भएपछि बाढी र पहिरोको उच्च जोखिम रहेको छ।