उत्तरी गोरखाका गाउँमा अझै प्रहरी चौकी स्थापना भएन

0
Shares

नेपाल समाचारपत्र, गोरखा
उत्तरी गोरखाको ल्हो, विही र चुम्चेतमा हालसम्म पनि प्रहरी चौकी स्थापना हुन सकेको छैन।
पहिले नै चौकी स्थापना भइसक्नुपर्ने सो क्षेत्रका लागि दरबन्दी पनि आइसकेको धेरै भयो। तर, चौकी स्थापनाका लागि जिल्ला प्रहरी कार्यालयले चासो दिएको छैन।

‘धेरै पहिलेदेखि नै चौकी स्थापना हुनुपर्ने हो, दरबन्दी पनि छ’, जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले भन्नुभयो– ‘दरबन्दीअनुसार जिल्लामा जनशक्ति नहुँदा समस्या भएको हो।’ प्रहरी चौकी नहुँदा हाल ल्हो क्षेत्रमा सामागाउँ प्रहरी चौकीले हेरिरहेको छ। त्यस्तै विहीमा प्रोक र चुम्चेतमा छेकम्पारको टोलीले हेरिरहेको एसपी रावलले बताउनुभयो।

भूकम्पले क्षति पुगेका चौकी स्थापना हुँदै
भूकम्पले क्षति पुगेका जिल्लाका प्रहरी चौकीहरू धमाधम पुनर्निर्माण हुदैछन्। हालसम्म बुंकोट, ताङलीचोक, नयाँसाघँु, भच्चेक, जौवारी, घ्याम्पेशाल, घ्याल्चोक प्रहरी चौकी र इलाका प्रहरी कार्यालय ठाटीपोखरीको भवन निर्माण भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

त्यस्तै बालुवा र रातमाटे प्रहरी चौकीको पनि निर्माण भइसकेको एसपी रावलले बताउनुभयो। बोर्लाङ, ताकुकोट, हर्मी, वारपाक प्रहरी चौकी र अस्थायी प्रहरी पोस्ट चनौटेको भवन पुनर्निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो। केही चौकी अस्थायी टहरा र भाडाको घरमा सञ्चालन भएको उहाँको भनाइ छ।