ल्हाक्याप भीरमा फलामे गोरेटो


नेपाल समाचारपत्र, सिन्धुपाल्चोक
न टेक्ने खुड्किलो, न समाउने हाँगो। विकट जुगल गाउँपालिकाको गुम्बा गाउँ र तेम्बाथान जोड्ने एउटै गोरेटो बाटोको ल्हाक्याप भीरमा पुग्दा जोकोहीको मनले डराउँछ। डरलाग्दो भीरमा काठका फ्ड्के राखेर तेम्बाथानका मानिसहरूले वर्षांैदेखि जीवन धान्दै आए। मानिसहरू आउजाउ गर्नै कठिन ल्हाक्यापको यही भीरको बाटो हुँदै तेम्बाथानबासीको जीवन चल्यो। ल्हाक्यापको यही भीरले धेरै मान्छेको ज्यान खायो, गाईबस्तु लडेर मरे र पनि जोखिम मोल्दै भीर छिचोल्नुको विकल्प थिएन गुम्बा–तेम्बाथानबासीका लागि।

तर, अब यसभेगका स्थानीयका लागि भीरको पिर छैन। स्थानीयबासीका लागि ‘ल्हाक्यापको दुख’ अब दूर भइदिएको छ। ३ नम्बर प्रदेश सरकारले नेपेमासाल पर्यटकीय पदमार्ग निर्माण योजनाअन्तर्गत फलामे गोरेटो निर्माण गरिदिएपछि ल्हाक्याप भीरको रुप मात्र फेरिएन, स्थानीयबासीका मुहारै फेरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेमासाल पदमार्ग निर्माणको योजना ल्याएपछि स्थानीय अगुवाहरूले ल्हाक्यापको भीरमा फलामको गोरेटो बनाएका छन्। शनिबार ल्हाक्याप भीरमा निर्माण भएको फलामे गोरेटोको उद्घाटन गरिएको छ। राष्ट्रिय सभाका उपाध्यक्ष डाक्टर पुष्प कँडेलले नवनिर्मित फलामे गोरेटोमा रिबन काट्दै यात्रा गरेर उद्घाटन गर्नुभयो। भीरमाथि फलामका गोरेटोमा रेलिङ समाउँदै अब उनीहरू निर्धक्क आउजाउ गर्न सक्ने भए।‘भीरमा फलाम जोड्यौं, पुल नै बनायौं’, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष रिन्जीतेन्जिन लामाले भन्नुभयो– ‘अब हाम्रा दुःखका दिन गएझैं लागेको छ।’ ल्हाक्याप भीरमा चिटिक्क परेको फलामे गारेटो बनेपछि गुम्बाकी स्थानीय सीता तामाङमा खुसीको सीमा नै छैन। ल्हाक्यापमाथिको निमाटोलबाट घाँस दाउरासँगै डरको भारी बोक्नुपर्नेछैन अब सीताले। ‘घाँसदाउरा ल्याउँदा लगलग गोडा काँम्थे, मन नै गहु्रँगो हुन्थ्यो’, उहाँले भन्नुभयो– ‘भीरमाथि यति राम्रो बाटो बन्छ जस्तो लागेकै थिएन।’

‘तेम्बाथानमा कोही बिरामी परे गुम्बासम्म ल्याउनै समस्या थियो, रामनाम जप्दै आउजाउ गर्नुपथ्र्यो। तेम्बाथानका स्थानीय अगुवा जाङमु शेर्पाले भन्नुभयो– ‘भीरमाथि फलामको गोरेटो बन्यो, अब हाम्रो दैनिकी सहज भयो।’ रामनाम जपेर आउजाउ गर्नुपर्ने ल्हाक्याप भीरमा फलामे गोरेटे बनेपछि यतिबेला तेम्बाथानमा खुसियाली छाएको छ। पेमासाल पदमार्ग निर्माण योजनाअन्तर्गत ल्हाक्याप भीरमा फलामे गोरेटोसहित छेन्ताङ र नेपेमासालमा शौचालयसहित पर्यटक बस्ने पाटीसमेत निर्माण भएका छन्। गत माघमा तेम्बाथान पुगेर फर्किएपछि प्रदेश सांसद सरेश नेपालले नेपेमासाल पदमार्ग निर्माणका लागि विशेष पहल गर्नुभएको थियो।