डोटीमा माटो परिक्षण शिविर सुरु

0
Shares

विमल विष्ट, डोटी । डिभिजन कृषि ज्ञान केन्द्र डडेल्धुराको पहल तथा जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीको आयोजनामा शनिवार देखी जिल्लाको शिखर नगरपालिकामा निःशुल्क माटो परिक्षण शिविर सञ्चालन गरिएको छ ।

कृषि क्षेत्रमा नगरपालिकालाई आत्मानिर्भर वनाउन उक्त नगरपालिकाको ११ वटा वडाको १५ ठाउँबाट माटो संङ्कलन गरी परिक्षण गरिएको कृषि ज्ञान केन्द्र सिलगढी डोटीका कृषि प्राबिधिक मदन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि ज्ञान केन्द्र सिलगढी डोटीको आयोजना तथा माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरको प्राविधिक सहयोगमा माटो परिक्षणको कार्य सुरु भएको छ ।

माटो परिक्षण गर्न आउने कृषकहरुलाई माटोको प्रकृती हेरी माटो, हावा पानी सुहाउदो बालीहरु उत्पादनका लागि डिभिजन कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख डीलबहादुर विष्ट, माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरका अधिकृत दलबहादुर खड्का लगायतले परामर्श दिईरहनु भएको छ ।

माटो परिक्षण पछि ११ वटै वडाको कुन कुन क्षेत्रमा कस्ता बाली लगाउने भनेर नगरपालिकाले योजना बनाई बजेट विनियोजन गर्ने शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “ माटो परिक्षण पछि कुन क्षेत्रमा कस्ता बाली लागाउने सो विषयमा योजना बनाएर बजेट बिनियोजन गरिने छ र नगरपालिका भित्र पकेट क्षेत्र बनाई एक गाउँमा एक उत्पादन गर्ने नगरपालिको लक्ष रहने छ ।”

डिभिजन कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख डीलबहादुर विष्टले माटो परिक्षण नगरपालिका भित्र कुन बालीलाई प्रत्साहन गर्न सकिन्छ भन्ने एउटा आधार बन्न सक्ने बताउनुभयो । उहाँले नगरपालिकामा उत्पादन हुन सक्ने माटो सुहाउदो बालीलाई जोड दिए नगरपालिका कृषि क्षेत्रमा आत्मानिर्भर हुनेमा विश्वास व्यक्त गर्नु भएको छ । शिखर नगरपालिकाको ९५ प्रतिशत घरधुरी कृषि पेशामा संलग्न रहेको छ । यो नगरपालिका मुलुक संघीय संरचनामा गईसके पछि बनेको नयाँ नगरपालिका हो ।

हाल नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सडक संन्जाललाई प्राथमिकतामा राखेर काम गर्दै आएको नगर प्रमुख जोशीको दाबी छ ।